विश्वकप २०२३ : अस्ट्रेलियाले सन् २०१५ को इतिहास दोहोर्याउँछ या भारतले सन् २०११ को !
काठमाडौँ : अस्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को फाइनलमा पुगेको छ। बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै फाइनलमा भारतसँग भेट पक्का गरेको हो।
दक्षिण अफ्रिकाले २ सय १३ रनको लक्ष्य दिएकोमा अस्ट्रेलियाले ४७. २ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।
सेमिफाइनलमा भारतले न्युजिल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ। आइतबार नरेन्द्र मोदी स्टेडियम अहमदवादमा फाइनल खेल हुनेछ।
अस्ट्रेलियाले पाँच पटक विश्वकप जितिसकेको छ। उता भारतले दुई पटक विश्वकप जितेको छ। भारत सन् २०११ पछि फाइनलमा पुग्न सकेको छैन। भारतले सन् १९८३ र २०११ मा उपाधि जितेको थियो।
अस्ट्रेलिया पनि २०१५ मा गएर रोकिएको थियो। अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो।
विश्वकपका सबै खेल जितेर भारत फाइनलमा पुगेको हो। अस्ट्रेलिया भने भारत र दक्षिण अफ्रिकासँग हारे पनि बाँकी खेल जितेर फाइनल पुगेको हो।
कात्तिक ३०, २०८० बिहीबार २३:११:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।