पञ्चायतकालमा पूर्वका पाठकलाई लभ स्टोरी पढाउने साहित्यकार डिल्लीरामको हिजोको कुरा : पढ्न जाँदा जङ्गलमा डाँकाको डर
तत्कालीन लेटाङ पञ्चायत वडा नम्बर ३ खेरुवामा जन्मिएका साहित्यकार तथा अवकाश प्राप्त शिक्षक डिल्लीराम ओझा उमेरले ६५ वर्ष लागे।
गाउँका सामान्य परिवारमा जन्मिएका ओझाले स्थानीय धनसिंह प्राइमरी स्कुलहुँदै लेटाङकै भगवती स्कुलबाट २०३५ सालमा एसएलसी दिए। त्यो समयमा एसएलसी दिएपछि स्कुल पढाउन सजिलै पाइन्थ्यो। उनले जाँतेको श्री प्रावि स्कुलमा अस्थायी शिक्षकको नियुक्ति पाए।
पढाउँदा पढाउँदै उनले आइए पढ्न धरानको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए र पास पनि गरे। घर छेवैको शिक्षा विकास प्राविमा पढाउन थाले। २०७६ सालबाट अवकाश जीवन बिताइरहेका उनले साहित्यकर्म पनि गरेका छन्।
उनले २०४१ मै ‘सिर्जनाका सौगातहरू’ लघु उपन्यास प्रकाश गरेका थिए। ‘एक आँसु दुई परेली’,‘अरुण वरुण’,‘मायाको आँसु’ उपन्यास छापिएका छन् उनका। पञ्चायतकालमा हरेक सिर्जनामा सेन्सर हुन्थ्यो। त्यसैले उनका कलमहरू राजनीतिक कम माया प्रेम र सामाजिक कथामा बढी चल्यो।
पढ्न जाँदा धना जङ्गलमा डाँकाको डर
मेरो बाल्यकाल लेटाङमै बित्यो। मेरो बाबुआमामा सन्तानलाई पढाउनुपर्छ भन्ने चेत भएकाले पढ्न पाइयो। घरबाट अलिकमाथि धनसिंह प्राइमरी स्कुलमा भर्ना भएँ म।
त्यो बेलाको जिम्दारले आफ्नै नाममा खोलेको स्कुल थियो त्यो। उनले आफ्नै नामबाट स्कुल स्थापना गरेर ४ कक्षासम्म पढाउने व्यवस्था गरेका थिए। मैले थाहा पाएसम्म त्यो स्कुल उनले आफ्नै स्रोत साधनबाट चलाएर गाउँभरिका केटाकेटीलाई पढाउन लगाउँथे।
मैले पनि त्यही स्कुलबाट नै कखरा सिकेको हो। यो स्कुलमा पढे बापत ५ रूपैयाँ शुल्क लिन्थेँ। सायद त्यो पैसा शिक्षकको तलबका लागि हुनुपर्छ।
यो स्कुल पढिसकेपछि घनाजंगल काटेर लेटाङ बजार छेउमा रहेको शान्ति भगवतीमा पढाई सुरु गरेँ। स्कुल जाँदा घना जङ्गल कट्दै चिसाङ खोला तरेर १ घण्टाको बाटो जानुपर्थ्यो।
२०२४ सालमा बजार खोला वारी नै सरेपछि स्कुल पनि सर्यो। २००९ सालमा स्थापना भएको त्यो स्कुल मैले थाहा पाउँदा ७ कक्षासम्म पढाई हुन्थ्यो। हामी पढ्दै जाँदा यही स्कुल १० सम्म पढाई हुने व्यवस्था भयो। त्यहीबाट एसएलसी दिने व्यवस्था भयो। २०३५ सालमा मैले त्यहीबाट एसएलसी दिएँ। म पहिलो ब्याचमा परेँ।
एउटा कक्षामा २०,२२ जना विद्यार्थी हुन्थ्यौँ। तर अधिकांश केटाहरू। केटीहरू निकै कम थिए। पढ्न टाढा टाढाबाट आउनुपर्ने भएकाले केटीहरू कम भएको हो कि जस्तो लाग्छ। त्यसमा जङ्गलको बाटो छिचोल्दै स्कुल जानुपर्ने भएकाले पनि कम भएको हुनसक्छ। एक्लै हिँड्न सम्भव थिएन। केहीले उतै बजारमै राखेर छोरीलाई पढाउँथे।
मैले पञ्चायतकाल हुँदै अहिलेको गणतन्त्रसम्मको व्यवस्था देखिसकेको छु। त्यो समयमा अहिलेको जस्तो हल्लाखल्ला हुँदैन थियो। सरकारको विरोध गर्ने,नारा जुलुस गर्ने मान्छेहरू भेटिँदैन थियो।
धेरै बोल्ने परिवेश पनि थिएन। मैले थाहा पाउँदा त्यो समयमा पुस १ गते संविधान दिवस मनाउने गर्थेँ। राजाको जन्मोत्सव पुस १४ र २७ गते। राजा रानीको जन्म उत्सव मनाउने चलन थियो। हाम्रो गाउँ भित्री एरिया भएर पनि होला बाहिरका राजनीति कुराहरू त्यति थाहा हुँदैनथ्यो।
अञ्चलाधीश,सिडिओ, गाउँ पञ्चायतको प्रधानपञ्च नै कानुन कार्यान्वयन गर्ने निकाय थिए। कसैलाई केही अन्याय भएको छ र उजुरी परेको खण्डमा गाउँमै मिलाउने चलन थियो। केहीलाई पक्रिने ,मुद्दा चलाउने पनि गर्थे।
२०३५ सालमा एसएलसी दिएपछि श्री प्रावि. स्कुलमा जाँतेमा पढाउन थालेँ। त्यो समयमा एसएलसी दिएपछि पञ्चायती व्यवस्था समितिले शिक्षक नियुक्ति गर्थ्यो। कोही प्रतिस्पर्धी आयो भने प्रतिस्पर्धा गराउने चलन पनि थियो। यदी प्रतिस्पर्धी नभए स्वतः शिक्षकमा अस्थायी नियुक्ति पाइन्थ्यो।
त्यो बेलामा एसएलसी पास गरेको मान्छे पाउनै मुस्किल थियो। त्यसैले पाए लगत्तै सिधै नियुक्ति दिन्थे। यसका लागि जिल्ला शिक्षा कार्यालयमा कागजपत्रहरू लगेर पोस्टिङ गर्न लगाउँथेँ। व्यवस्थापन समितिले लगेको कुरालाई जिल्ला शिक्षा कार्यालयले मान्थ्यो।
मैले पहिलो पल्ट अस्थायी नियुक्ति पाउँदा २५५ रूपैयाँ तलब थियो। त्यो बेलाको त्यति तलब पनि निकै हो। मैले पहिलो तलब नचलाईकन नै राखेको थिएँ। २,३ हजार भएपछि लेटाङमै एक बिघा जमिन जोडेको थिएँ।
तलबबाट आएको पैसा जम्मा गरेर नै २०३७ सालमा बिहे गरेको हो। ६ सय २० रूपैयाँ लगाएर एउटा हिरो साइकल किनेको थिएँ। यो झन्डै साढे तीन महिनाको तलब थियो।
दुई वर्ष श्री प्राविमा पढाएपछि २०३९ सालमा धरान महेन्द्र बहुमुखी क्याम्पसमा पढ्न गएँ। आइएमा भर्ना भएँ। त्यहाँ पढ्दै गर्दा २०४१ सालमा शिक्षा विकास प्राविमा शिक्षकको आवश्यकता परेछ। मेरा घर नजिकै। अनि पढ्दापढ्दै यो स्कुलमा शिक्षकको रूपमा पढाउन थालेँ।
यही स्कुलमा पढाउँदा पढाउँदै २०४४ सालमा हेडमास्टर पनि भएँ। हेडमास्टर भएर २८ वर्ष काम गरेपछि २०७६ सालमा अवकाश पाएँ। मेरै पालामा २०५५ सालमा १० कक्षासम्म पुर्याएर पहिलो पटक एसएलसी दिने व्यवस्था गरेको थिए विद्यालयमा।
तीन घण्टा जङ्गलको बाटो भरियासँग
धरान पढ्न जाँदाका तिता मिठा अनुभवहरू टन्नै छन्। २०३९ सालमा धरान पढ्न जाँदा आफूलाई चाहिने चामल, दाल, नुन, तेल सबै बोकेर जानुपर्थ्यो। लेटाङ बजारबाट महेन्द्र राजमार्ग पुग्न जंगलैजंगल २,३ घण्टा हिँडेर पुगिन्थ्यो। किनभने त्यो समयमा अहिलेको जस्तो गाडीको व्यवस्था थिएन। लेटाङबाट कानेपोखरी पुगेपछि मात्रै धरान जाने बसहरू पाइन्थ्यो।
एक्लै जान डरमर्दो बाटो। चोर लाग्ने, डाँका लाग्ने गर्थ्यो। त्यसैले समूहमा जानुपर्थ्यो। चोर र डाँकाको खूब हल्ला चलेको थियो तर, मैले कहिल्यै भेटिन।
अहिले त घर-घरमा गाडी छन्। त्यो बेलामा सवारी साधन भनेको महेन्द्र राजमार्गमा पुगेपछि मात्रै भेटिन्थ्यो। कानेपोखरीबाट धरान पुगेको १०-१२ रुपैयाँ भाडा लाग्थ्यो।
पूर्वका पाठकले उपन्यास मन पराए
सानैबाट साहित्य लेखनमा रुचि थियो। कहिले कविता कोर्थे, कहिले गीत। बाजा बजाउन पनि खूब रहर लाग्ने। म बजाउँथे पनि। तर, अलि बढी सक्रिय धरानमा पढ्दा भएँ। कलेजका साथीहरूसँग बसेर गीत गाउने, मादल,बाँसुरी बजाउने गर्थेँ। उनीहरूले मेरो गायनको प्रशंसा गर्न थाले। २०४१ सालतिर लघु उपन्यास ‘सिर्जनाका सौगातहरू’लेखेको थिएँ। आफ्नै लगानीबाट विराटनगरबाट किताब प्रकाशित गरेपछि राम्रै चर्चा भएको थियो। यो उपन्यासले पाठकमाझ राम्रै छाप छोडेपछि फेरि अर्को कृति प्रकाशन गर्न मन लाग्यो।
लेखनलाई निरन्तरता दिँदै ‘एक आँसु दुई परेली’ नामक उपन्यास लेखेँ। यो उपन्यास २०४३ सालमा प्रकाशित भयो। त्यसपछि निरन्तर ‘अरुण वरुण’,‘मायाको आँसु’ उपन्यास बजारमा आए।
पूर्वका अधिकांश पाठकहरूमाझ मेरा सिर्जनाहरू लोकप्रिय बने। यही क्रममा मैले ‘खोजी र सफलता’नामक आत्मकथा लेखेँ।
पछिल्लो समय प्रकाशित कृति ‘घाइते’ हो। यो कसैको जीवनमा आधारित कथा हो। अब केही सिर्जनाहरू प्रकाशित हुने क्रममा छन्।
पञ्चायतमा कृति प्रकाशन गर्दा अनुमति
पञ्चायतकालमा कुनै गीत गाउँदा पनि सेन्सर गर्नुपर्ने। राजा या राज्यप्रति नकारात्मक शब्दहरू घुसाएको छ कि भनेर जाँचबुझ गर्थे। पञ्चायतकालमा कृति प्रकाशन गर्नुअघि राज्यलाई जानकारी दिनुपर्थ्यो। राज्य विरुद्ध कुनै कुरा लेखिएको छ कि भनेर हेर्थे।
अहिलेको जस्तो सहजै किताब प्रकाशन गर्न सम्भव थिएन। जानकारी नदिई प्रकाशन गर्यो भने कारबाही हुन्थ्यो।
मेरो केही कृति प्रकाशन हुँदा पञ्चायतका प्रधानपञ्चहरूसँग सहकार्य गर्नु परेको थियो। मेरो पहिलो कृति प्रकाशन गर्दाको समयमा मैले यो कृति प्रकाशन गर्दैछु है भनेर जानकारी दिएँ। प्रकाशन गर्नु तर राजनीतिक कुरा भए हटाउनु भन्ने आदेश आयो। मैले राजनीतीबारे केही पनि लेखेको छैन। माया प्रेम र सामाजिक परिवर्तनका चेतनामूलक कथा हो, क्रान्तिकारी,व्यवस्था विरुद्धका कुराहरू समेटेको छैन भनेर जानकारी दिएँ।
किताब प्रकाशित गर्न रोकटोक भएन। यदि ढाँटेको भए मलाई कारबाही हुन सक्थ्यो। राजनीतिक किताब भए एकप्रति दिएर त्यसपछि माथिमाथि पुगेर हुन्छ र हुँदैन भनेर निर्देश आउँदा जुग बित्थ्यो नि। लभ स्टोरी लेखेकाले त्यस्तो अप्ठ्यारो भएन।
कात्तिक ३०, २०८० बिहीबार २१:०५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।