‘दिमाग खराब’ले कम शो पाएपछि सुरू भयो स्वदेशी-विदेशी फिल्मको राजनीति

‘दिमाग खराब’ले कम शो पाएपछि सुरू भयो स्वदेशी-विदेशी फिल्मको राजनीति

काठमाडौँ  नेपालमा बलियो फ्यान फलोइङ भएको विदेशी कलाकारको अभिनय रहेको फिल्म रिलिज हुँदा नेपाली फिल्म किचिनु सामान्य घटना हुन्। तर विरोध र वक्तव्य जारी हुन्न सबैको हकमा। भारतीय फिल्मसँग नेपालको बलियो निर्माता र निर्देशकको फिल्म जुध्यो भने मात्र 'स्वदेशी फिल्म रक्षा' को राजनीतिक सुरु हुन्छ।

स्वदेशी फिल्म र विदेशी फिल्म एकै पटक रिलिज भएको अवस्थामा स्वदेशी फिल्मलाई न्यूनतम् कति शो दिने भन्ने एकिन नियम छैन। त्यो हल सञ्चालकको तजविजमा भर पर्छ। उनीहरूले दर्शकको चाप धेरै भएको फिल्म पनि हलबाट झारिदिन सक्छन्। मुड चले उत्रिसकेको फिल्म पुन लगाउन पनि सक्छन्।

परदेशी-२ सँगै रिलिज भएको बशन्जी फिल्म दुई दिन पनि हलमा लाग्न पाएन। उत्रिहाल्यो। सबै हलले फिल्म उतारेको एक सातापछि रञ्जना सिनेप्लेक्सले पुन सो फिल्म हलमा देखाउन थाल्यो। 

स्वदेशी र विदेशी फिल्मको विवाद बारम्बार उठ्छ तर त्यसै सेलाउँदा स्वदेशी र विदेशी फिल्मको हकमा एकै पटक रिलिज गर्दा कसलाई कति शो दिने तय हुन सकेको छैन।

यस्तै माहौलकाविच टाइगर थ्रीलाई हल सञ्चालकहरूले बढी शो दिएपछि फिल्म 'दिमाग खराब' टिमले दुई सर्त राख्दै शुक्रवारबाट हलहरूबाट फिल्म हटाउने निर्णय सार्वजनिक गर्यो। हलमा आइतबारबाट सलमान खान अभिनीत टाइगर थ्री रिलिज भएपछि एकाएक दिमाग खराबको शो सङ्ख्या घटेको थियो। घटिरहेको छ।

त्यसको विरोधमा निर्माण टिमले विदेशी फिल्म(टाइगर थ्री बराबरको शो सङ्ख्या दिनुपर्ने र तेस्रो हप्ताबाट हुने आम्दानीमा ६५ र ३५ प्रतिशत नभई ५०-५० प्रतिशत बाँडफाँड हुनुपर्ने माग राखेपछि फिल्म नगरीमा अहिले पुन स्वदेशी र विदेशी फिल्मको विवाद सुरु भयो।

दिमाग खराब फिल्मका निर्देशक निश्चल बस्नेतले बुधबार यी दुवै सर्त स्वीकार नगरे शुक्रवारबाट हलहरूबाट फिल्म उतार्ने र प्रदर्शनका लागि वैकल्पिक माध्यममा जाने चेतावनी दिएका थिए। बिहीबार नेपाल चलचित्र संघ र दिमाग खराब टिमविच छलफल सुरु भएकाले फिल्म मङ्गलबारसम्म हलमा लाग्ने भएको। त्यसपछि के हुन्छ त्यो मंगलबारकै बैठकपछि सार्वजनिक हुने देखियो।

अभिनेत्री स्वस्तिमा खड्काले फेसबुकमा लेखिन्' हाम्रो लडाइँ ‘टाइगर’सँग होइनउसलाई राजा बनाएर अरूलाई दास बनाउनेहरूसँग हो।'

बिहीबारै चलचित्र निर्माता सङ्घले विज्ञप्ति जारी गरेर फिल्म प्रदर्शकहरूले नेपाली फिल्मलाई' सौतेनी व्यवहार' गरेको भन्दै दिमाग खराब टिमले गरेको मागमा समर्थन गर्यो।

हस्तलिखित विज्ञप्तिमा महासचिव सुनिलकुमार थापाको हस्ताक्षर रहेको छ। विज्ञप्तिमा दिमाग खराब एक प्रतिनिधि पात्र मात्र भएको उल्लेख गर्दै प्रदर्शकहरूको हेपाहा प्रवृत्ति अन्त्य गर्न अन्तिम लडाई लड्नुपर्ने समय आएको उल्लेख छ।

निर्माता सङ्घले प्रदर्शकहरूको संस्था नेपाल चलचित्र सङ्घलाई वार्तामा आउन आव्हान गरेको छ। अन्यथा नेपाली चलचित्र निर्माताहरूको रक्षार्थ हलमा कुनै पनि फिल्म चल्न नदिई, कडा रूपमा प्रस्तुत भई चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ।

विज्ञप्तिमा चलचित्र प्रदर्शकहरूबाट स्वदेशी निर्माता र सिनेमालाई सधैँ स्वार्थ केन्द्रित साधनको रूपमा प्रयोग गर्ने गरेको उल्लेख छ।

फिल्म निर्देशक दीपेन्द्र लामाले यो विवादबारे आफ्नो धारणा राखेर निर्माता र प्रदर्शकलाई मिलेर जान सन्देश दिए।

लामाले एउटा भरभराउँदो सिनेमाको हत्या हुन नहुने भन्दै अहिले आइएमविचदिमागखराब भन्ने निर्माताहरू केही समयपछि हलवालाहरूलाई बरु ६०% शेयर लिनुस्मेरो सिनेमालाई दुई शो बढी दिनुस् भन्दै गिड्डगिडाउने उल्लेख गरेका छन्।

एउटाले तीन महिनाअघि घोषणा गरिसकेको रिलिज डेटमा चार वटा सिनेमा खप्टिन आइपुग्ने, अरूको सिनेमा चलेको दुई दिन भएको हुँदैन फ्लपको ट्याग भिडाउने आतुरी हुने भन्दै लामाले 'कसै कसैले 'दिमाग खराबहलबाट उत्रियोस् र आफ्नो सिनेमाको बक्स अफिस कलेक्सनलाई पछि नपारोस् भनेर पनि नक्कली ऐक्यबद्धता व्यक्त गरिरहेको गम्भीर आरोप लगाएका छन्।

'यो प्रकरणले 'दिमाग खराब'का निर्माता घाटामै जाओस् भनेर पनि साथ दिइरहेका छन्। दर्शक ओइरिएसम्म कसैले छेक्न सक्दैन। सिनेमालाई हल चाहिन्छहललाई पनि सिनेमा चाहिन्छ' उनले लेखेका छन्' त्यसैले दुवै बाँच्ने उपाय निकाल्दै 'दिमाग खराब'को प्रदर्शनीलाई निरन्तरता दिन जरुरी छ। 'होगा तो होगानहीं तो मकैको घोगाभनेर हुँदैन!'

सबैमाथि समान ब्यबहार नहुँदा प्रभावहीन

विदेशी अझ भारतीय र दक्षिण भारतीय फिल्मको मारमा पर्ने निर्माता पहिलो हैनन् दिमाग खराब टिम। यो संख्या निकै लामो छ। तर सबै निर्माताले दिमाग खराबले जस्तै सार्वजनिक प्रतिरोध गर्दैनन्। संघहरुले साथ पनि दिँदैनन्।

बलियो निर्माता निर्देशक अन्यायमा परेमा विरोध शुरु हुन्छ। कमजोर निर्माता परे भने त्यतिकै किचिन्छन्। सबैको हकमा सबैले समान समर्थन नगर्दा  स्वदेशी र विदेशी फिल्मको महत्वपूर्ण विषय मौसमी नारा जस्तै कमजोर बन्ने गरेको छ। 

फिल्म ए मेरो हजुर-४ कै कुरा गरौँ न। यो फिल्मसँग भारतीय फिल्म केजिएफ-२ रिलिज भयो। केजिएफ-२ को प्रभाव नेपालमा मात्रै हैन विश्वब्यापी नै थियो। नेपालमा पनि दर्शकहरुमाझ बलियो प्रभाव थियो। त्यसको मार ए मेरो हजुरमा पर्ने नै भयो। हलमा फिल्म टिक्यो। शोहरु घटाइए। तर फिल्मले राम्रो शोहरु पाउनुपर्छ भनेर निर्माता र निर्देशकबाहेक अन्यले बोलेनन्।

कहिलेकाहीँ नेपाली फिल्मका निर्माताले नेपाली फिल्म मात्रै प्रतिष्पर्धामा रहँदा पनि एउटालाई काखा र अर्कोलाई पाखा गरेको आरोप लगाउँदै फिल्म रिलिज भएको दुई दिनमै हलबाट उतार्नु परेको थियो। फिल्म राधाको हकमा अन्यायपूर्ण व्यवहार भएको भन्दै निर्माण टिमले रिलिज भएको तेस्रो दिनमै हलबाट फिल्म उतारेका थिए।

नेपाली हलहरूमा नेपाली फिल्मले प्राथमिकता पाउनुपर्छ भन्नेमा कुनै दुई मत छैन। अब दर्शकै हलमा नआएको अवस्थामा घाटा बेहोरेर फिल्म चलाउनु पर्छ भन्ने हुन्न।

तर दर्शकको फ्लो राम्रो भएको बेलामा नेपालको हलमा नेपाली फिल्मले पर्याप्त शोहरु पाउनु उसको व्यावसायिक हक पनि हो। तर हल सञ्चालकहरुले फिल्मलाई केबल व्यापारसँग मात्र जोडेर जुन सामान बढी बिक्छ उसैलाई प्राथमिकता दिने गरेको जस्तै दाबी गर्ने गरेका छन्। प्रस्ट नीति नहुँदा हल सञ्चालकहरुलाई यस्तो गर्नैपर्छ भनेर बाध्य बनाउन सकिने पद्धति पनि छैन।

कुन फिल्म हेर्न हलमा दर्शकको फ्लो कस्तो छ भनेर अनुगमन गर्ने संयन्त्र बक्स अफिसै हो। बक्स अफिसले हरेक दिन कुन फिल्मको कति टिकट विक्री भयो भनेर सार्वजनिक गर्ने गरेको थियो। तर निर्माताहरूले नै हाम्रो व्यापार सार्वजनिक गरिदिने भनेर विरोध भएपछि अहिले दैनिक रुपमा सार्वजनिक हुने संयन्त्र बन्द भयो। यसले सार्वजनिक अनुगमन गर्ने संयन्त्र बन्द भयो।

हल सुनसान भए पनि दर्शक झुक्याउन फिल्मका निर्माताहरूले 'हलभरी दर्शक' भन्दै आफू निकटका प्रचारमार्फत भ्रम फैलाउनाले समेत विश्वसनियता कम हुँदै गएको देखिन्छ शो अकुपेन्सीबारे। 

अर्को पक्ष भनेको फिल्म निर्माण र वितरणमा संलग्नहरू सबैको हकमा समान ब्यबहार गर्न चुक्दा बलियो समर्थन पाउन सकेको छैन। यो महत्वपूर्ण विषय हो तर जसले अन्याय भोग्यो उसैको मात्र समस्या जस्तो बन्न पुगेको छ। यति टिकट विक्री भए शो देखाउनै पर्ने नीति बन्दा नेपाली र विदेशी फिल्म एकै पटक रिलिज भएको हकमा नेपाली फिल्मको हकमा न्यूनतम् यति शो दिनै पर्ने बाध्यकारी नीति बनाउन समेत चुकेका छन्।

विवादमा सहजिकरण गर्नुपर्ने चलचित्र विकास बोर्डले पनि यस्तो महत्वपूर्ण विषयमा वास्ता गर्दैन। 

३० कात्तिक, २०८०, १८:२४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।