युक्रेनमा सर्वसाधारण मारिँदा दुख्ने अमेरिकी मन गाजा घटनामा किन दुख्दैन?
गत साता साउदी अरबको राजधानी रियादमा ५७ अरब र मुस्लिम देशका नेताहरूको बैठक भयो जसमा यी देशका नेताहरूले इजरायल प्यालेस्टिनी सङ्कटमा अमेरिकाले दोहोरो मापदण्ड अपनाएको भन्दै आलोचना गरे। बैठकमा सहभागी नेताहरूले अमेरिकालाई मध्यपूर्व क्षेत्रबारे ज्ञान नभएको समेत आरोप लगाए।
बैठकमा सहभागी केही देशका परराष्ट्रमन्त्रीहरूले पश्चिमी देशले युक्रेन र रुसको युद्ध र प्यालेस्टिनी-इजरायली समस्याबारे दोहोरो मापदण्ड अपनाएको भन्दै असन्तुष्टि जनाएका थिए।
'पश्चिमा देशहरू रुसमाथि युक्रेनमा आम नागरिकको हत्या गरेको आरोप लगाउँछन् तर गाजा क्षेत्रमा इजरायलले आम नागरिकमाथि गरेको युद्ध अपराधलाई स्वीकृति दिएको किन?' उनीहरूको प्रश्न थियो।
रियादको रिट्ज कार्लटन होटलको भव्य सभा हलमा अरबका इस्लामिक देशका नेताहरूको बैठक बसेको थियो। बैठकले गाजा-इजरायलविचको युद्धमा गाजा क्षेत्रमा भएको जनधनको क्षतिका लागि इजरायल र उसको समर्थक देशहरू जिम्मेवार रहेको निष्कर्ष निकालियो।
अक्टोबर सातमा दक्षिणी इजरायलमा हमलाका लागि केही प्रतिनिधिले हमासलाई समेत दोष दिएका थिए। युद्धमा एक हजार २ सय इजरायली नागरिकको मृत्यु भएको थियो। २ सय ४० इजरायली नागरिक अहिले पनि हमासले अपहरण गरेर लगेको थियो। त्यसको बदलामा इजरायलले गाजा क्षेत्रमा व्यापक आक्रमण गरिरहेको छ।
बैठकमा अरब लिगको महासचिवले इजरायलले गाजा क्षेत्रमा युद्ध अपराध गरिरहेको आरोप लगाएका थिए। बैठकपछि जारी भएको वक्तव्यमा गाजा क्षेत्रमा इजरायलले गरिरहेको घातक जवाफी कारबाहीको खतरनाक परिणामका लागि इजरायललाई चेतावनी दिइयो। गाजा क्षेत्रमा जे भइरहेको छ त्यो युद्ध अपराध भएको वक्तव्यमा उल्लेख गरिएको छ।
' न इजरायल आफ्नो आक्रमणको शैली समाप्त गर्न चाहन्छ न त संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदले यो आक्रमण अन्त्य गर्न अन्तर्राष्ट्रिय कानुन लागु गरिरहेको छ। यसबाट युद्ध अन्य क्षेत्रमा समेत फैलने खतरा बढेको छ' वक्तव्यमा भनिएको छ।
अरब देशहरूको सम्मेलनको निष्कर्षमा इजरायलले ध्यान दिनेमा बैठकमा सहभागी केही प्रतिनिधि सकारात्मक समेत देखिएका थिए। बैठकमा सहभागी नेताहरू इजरायल-गाजा क्षेत्रमा भएको हिंसात्मक घटनाको अन्त्य गर्न अमेरिकी प्रशासन र पश्चिमी देशहरूले दबाब बढाउनेमा आशावादी समेत देखिएका थिए।
तर अधिकांश सहभागी यो कसरी सम्भव हुन्छ भन्नेमा भने एकमत हुन सकेनन्। बैठकमा सहभागी केही देशका प्रतिनिधीहरुको व्यवहारले उनीहरू गाजा क्षेत्रमा भइरहेको हमला नियन्त्रण बाहिर गइरहेको र यसले अन्य देशको क्षेत्रमा समेत प्रभाव पर्नेमा चिन्तित देखिएका थिए।
बैठकमा इजरायलको मुख्य प्रतिस्पर्धी इरानको प्रतिनिधि पनि सहभागी थिए। इरानको राष्ट्रपति इब्राहिम रइसी आफ्नो परिचित कालो पोसाकमा सहभागी भएका थिए। उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू कलर नभएको सर्ट र कालो रङ्गको सुटमा उपस्थित थिए।
इरान र साउदी अरबबीच केही वर्षदेखि सम्बन्ध बिग्रिएको छ। तर यो वर्षको मार्चमा उनीहरू नजिक आएर सम्बन्ध सुधार्न सहमत भए। तर इजरायलको विषयमा दुवै देशको अजेण्डा भने फरक देखिन्छ।
इरान गानामा हमास, लेबनानमा हिजबुल्लाह र यमनमा हुती विद्रोहीलाई समर्थन गरिरहेको छ। तर साउदी अरब लगायतका केही अरब देशहरू भने यसलाई खतरा मान्छन् र यसले सो क्षेत्रमा अस्थिरता बढाउने मत राख्छन्।
रियाद जानु अगाडि इरानका राष्ट्रपतिले तेहरानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गाजाको विषयमा अहिले छलफल गर्ने भन्दा पनि हस्तक्षेप गर्ने समय रहेको बताएका थिए। तर बैठकले अमेरिका र बेलायतविरुद्ध कुनै कडा निर्णय भने गरेन। इजरायलसँग सम्बन्ध तोड्न बैठकमा आएको प्रस्तावको विपक्षमा युएई र बहराइन उभिए। यी दुवै देशले अहिले इजरायलसँग व्यापार र रक्षा विषयमा सम्बन्ध बढाइरहेका छन्। दुवै देशले इजरायलसँग कूटनीतिक सम्बन्ध समेत बनाइसकेका छन्।
हमासले कसरी मध्य पूर्वको अवस्था बदल्यो?
बैठकमा सिरियाका राष्ट्रपति बशर अल असद पनि सहभागी थिए। सिरियाको गृहयुद्धमा उनले अपनाएको दमनकारी कारबाहीपछि उनी अरब देशहरूबाट बाहिरै रहेको देखिएको थियो। उनले बैठकमा ठोस कदम नउठाउने हो भने बैठक प्रभावकारी हुन नसक्ने मत राखेका थिए।
बैठकमा तेल निर्यातमा प्रतिबन्ध लगाउने र अरबका देशहरूमा रहेको अमेरिकी सैन्य अखडा हटाउने प्रस्ताव पनि थियो। तर सो प्रस्तावमा अधिकांश देशका प्रतिनिधि मौन बसे। तर बैठक हमासले इजरायलमा गरेको आक्रमणपछि उत्पन्न परिस्थितिले मध्यपूर्वको अवस्था बदलेकोमा सबै सहमत देखिएका थिए।
सात अक्टोबरको बिहानसम्मको अवस्था भिन्न थियो। इरान अनि उसले समर्थन गरेको विद्रोही समूहको विपक्षमा माहौल थियो। ६ वटा अरब देशहरूले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापित गरेका थिए। साउदी अरब र इजरायलबीच सम्बन्ध सुध्रँदै थियो। इजरायलका पर्यटनमन्त्रीले रियादको भ्रमण गरेका थिए। दुबई इजरायली पर्यटकको स्वागत गर्न तयार थियो।
जासुसी उपकरण,बायोटेक लगायतको क्षेत्रमा इजरायलले गरेको विकासमा कयौँ अरबका देशको चासो बढिरहेको थियो।
कतार बाहेक अन्य खाडी देशहरु प्यालेस्टिनी नेतृत्वमा बढेको भ्रष्टाचार, असक्षमता र उनीहरूबिच बढिरहेको आन्तरिक कलहबाट थाकिसकेका थिए। कतारले मात्रै हमासका निर्वासित नेताहरूलाई संरक्षण दिएको थियो।
बैठकमा सहभागीहरूबिच ७५ वर्षमा पनि प्यालेटिनिहरुको स्वतन्त्र देश स्थापित हुन नसकेकोमा दुखी देखिएका थिए। अर्कोतिर इजरायल अब शक्तिशाली देश भइसकेकाले उसलाई पुरै नजरअन्दाज गर्न सम्भव नभएको भन्दै सामान्य सम्बन्ध भने कायम राख्नुपर्ने पक्षमा पनि बलियो मत देखिएको थियो। राज्यहीन प्यालेस्टीनीको पक्षमा बैठकमा सहानुभूति देखिन्थ्यो तर समाधानमा सबै एक मत देखिएनन्।
इजरायलसँग अरब देशको सम्बन्ध टुटिसकेको छैन। तर कमजोर बन्दै गएको छ। बैठकमा सहभागी केही देशका विदेशमन्त्रीहरूले आफ्नो देशका युवाहरुमाझ इजरायलविरुद्ध बढ्दै गएको भावनाले कट्टरता बढाउनेमा चिन्ता व्यक्त गरिरहेका थिए। गाजा क्षेत्रमा इजरायलले जे गरिरहेको छ त्यो देखेर युवाहरूमा आक्रोश बढिरहेको उनीहरूको धारणा थियो।
सम्मेलनमा सहभागीहरू इजरायली राष्ट्रपति बेन्ज्यामिन नेतान्याहुले आफूविरुद्ध इजरायलमा बढिरहेको माहौललाई हेरेर आत्मरक्षाका लागि आक्रमणलाई घातक बनाएको समेत बताएका थिए। गाजा क्षेत्रमा जुन रूपमा आक्रमण भइरहेको छ त्यसले पुरै क्षेत्रलाई खतरनाक बाटोतर्फ धकेलिरहेको उनीहरूको मत थियो।
गाजा क्षेत्रमा इजरायलले गरिरहेको आक्रमणका फुटेज इन्टरनेटमा जति फैलँदै गएको छ त्यसले कट्टरता समेत बढाउँदै लगेको उनीहरूको विश्लेषण देखियो। गाजा क्षेत्रमा इजरायलले जुन रूपमा आक्रमण गरिरहेको छ त्यसलाई नियन्त्रण गर्न राष्ट्र सङ्घको सुरक्षा परिषद् असफल भएकोमा उनीहरूमा आक्रोश समेत देखिएको थियो।
तेलको खानीको रूपमा परिचित अरबका देशहरूसँग अमेरिकाको रणनीतिक सम्बन्ध सन् १९४५ बाट सुरु भएको थियो। युद्धको समयमा लाल सागरमा अमेरिकाको एक युद्धपोतमा पूर्व अमेरिकी राष्ट्रपति फ्रयाङकलिन रुजबेल्ट र साउदी अरबका संस्थापक शाह अब्दुलअजिजको भेट भएको थियो। त्यो बेलामा सुरु भएको सम्बन्ध अहिलेसम्म पनि कायम छ। अमेरिका साउदी अरब र अन्य देशहरूको रक्षा सम्बन्धी आवश्यकता पुरा गरिरहेको छ।
तर अहिले अवस्था बदलिँदै गएको छ। जब पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा प्रशासनले एसियातर्फ आफ्नो ध्यान बढाउन थाल्यो तबदेखि मध्यपूर्वका देशहरूमा अमेरिकी चासो कम देखिएको उनीहरूको निष्कर्ष देखिन्छ।
त्यही समय सो क्षेत्रमा रुस र चीनले आफ्नो सक्रियता बढाएका छन्। इरान र साउदी अरबको बीचमा बिग्रिएको सम्बन्ध सुधार्ने प्रयत्न भइरहेको छ।
सिरियाको राष्ट्रपतिलाई रुसले दिएको समर्थनपछि सो क्षेत्रमा अहिले रुसको तुलना अमेरिकासँग हुने गरेको छ। सन् २०११ मा मिश्रका राष्ट्रपति होस्नी मुबारकको विरुद्धमा विद्रोहहुँदा अमेरिकाले मुबारकको साथ छाडेको थियो।
यसको मतलब मध्य पूर्वमा अमेरिकाले आफ्नो सहयोगी गुमाइसकेको अवस्था छैन। उनीहरू तत्काल इजरायलविरुद्ध अमेरिकी नीति विरुद्ध कडा कदम चाल्ने पक्षमा देखिएका छैनन्।
तर उनीहरू गाजा क्षेत्रमा बढिरहेको तनाव आफ्नो देशमा प्रवेश भएर नियन्त्रण बाहिर जानु अगाडि नै अमेरिकाले गाजा क्षेत्रको सङ्कट समाधान गरोस् भन्ने पनि चाहन्छन्।
(बिबिसीमा प्रकाशित फ्र्याङ्क गार्डनरको रिपोर्टिङको सम्पादित अंश हेडलाइन परिवर्तन गरी प्रकाशित गरिएको।)
कात्तिक ३०, २०८० बिहीबार १४:११:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।