टी-२० क्रिकेट शृंखला : नेपाल हङकङसँग नौ विकेटले पराजित, फाइनल पुग्न असफल
काठमाडौं : चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।
घरेलु टिम हङकङविरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ५६ रन बनाएको थियो।
नेपालले दिएको ५७ रनको झिनो लक्ष्य हङकङले ९ ओभरमै मात्र १ विकेट गुमाएर भेट्टायो।
हङकङका लागि नतासा माइल्सले नटआउट ३० रन र शान्जिन शाहजादले नटआउट २० रन जोडे। त्यसअघि मारिको हिललाई कप्तान इन्दू बर्माले ५ रनमा रनआउट गरेकी थिइन्।
यसअघि पहिले ब्याटिङ गरेकाे नेपालका सुरूवाती ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
ओपनर पूजा महतो ४ रनमै आउट भइन्। त्यस्तै, सम्झना खड्का १ रन, काजल श्रेष्ठ र इन्दू बर्मा शून्य रनमा आउट भए।
त्यसपछि विन्दू रावल र कन्चन श्रेष्ठ समान १-१ रनमा आउट भए। रूबिना क्षेत्रीले नेपालको इनिङलाई केही सम्हालिन्।
उनले २५ रनको योगदान गरिन्। त्यसपछि अस्मिना कर्माचार्य शून्य र संगिता राई २ रनमा आउट भए। रोमा थापा ७ रनमा नटआउट रहिन्।
हङकङकी इक्रा सहरले ३ विकेट लिँदा रुचिताले २ विकेट हात पारिन्। नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ फाइनलमा प्रवेश गरेको छ।
तान्जानिया पनि दुई जित सहित फाइनलमा पुगेको छ। अन्तिम खेलअघि नेपाल र जापान भने फाइनलमा पुग्न असफल भए।
कात्तिक ३०, २०८० बिहीबार १४:०३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।