टी-२० क्रिकेट शृंखला : हङकङविरुद्ध संकटमा नेपाल, २४ रनमै आधा टोली पेभेलियन फर्कियो
काठमाडौं : चार राष्ट्र सम्मिलित महिला टी-२० क्रिकेट शृंखलाको बिहीबार खेलिएको हङकङविरुद्धको खेलमा नेपाल संकटमा परेको छ।
२४ रनको कुल स्कोरमै नेपालको आधा टोली पेभेलियन फर्किएको छ। नेपालले ७ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर २४ रन मात्र बनाएको छ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर पूजा महतोलाई गुमाएको थियो। पूजा आठ बलमा चार रन बनाउँदै रन आउट भएर पेभेलियन फर्किएकी थिइन्।
त्यसैगरी सम्झना खड्का एक रन, काजल श्रेष्ठ (शून्य रन), कप्तान इन्दू बर्मा (शून्य रन) र सिता राना मगर नौ रनमै आउट भएकी छिन्।
अहिले क्रिजमा रुबिना क्षेत्री र काजल छन्।
नेपाल जारी प्रतियोगितामा पहिलो जितको खोजीमा छ। बुधबार भएको खेलमा नेपाली टोली तान्जानियासँग २७ रनले पराजित भएको थियो।
खराब ब्याटिङ गरेको नेपाल तान्जिानियाले दिएको १ सय १६ रनको लक्ष्य पूरा गर्न असफल भएको हो।
आजको खेल नेपाली ब्याटरका लागि पुनरागमन गर्ने राम्रो अवसर हो।
हङकङले भने जितका साथ प्रतियोगिताको सुरूवात गरेको छ। पहिलो खेलमा उसले जापानमाथि ९ विकेटको सहज जित हात पारेको हो।
नेपाल सन् २०२३ मा हङकङविरुद्ध तेस्रो पटक खेल्दैछ। पछिल्ला दुई टी-ट्वेन्टी आईमा नेपाल विजयी भएको थियो।
नेपाल आईसीसी महिला टी-ट्वेन्टी वरीयतामा हङकङभन्दा एक स्थान मात्र अघि छ। नेपाल वरीयताको २१ औं र हङकङ २२औं स्थानमा छ।
कात्तिक ३०, २०८० बिहीबार १२:२३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।