पिच बदलिएको विवादबारे बोले न्यूजिल्याण्डका कप्तान विलियमसन

पिच बदलिएको विवादबारे बोले न्यूजिल्याण्डका कप्तान विलियमसन

एजेन्सी : मुम्बईको वानखेडे स्टेडियममा जारी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डलाई ७० रनले पराजित गर्यो।

तर यो खेल सुरु हुनेबित्तिकै सामाजिक सञ्जालमा वानखेडे पिचलाई लिएर विवाद सुरू भएको थियो।

बेलायती पत्रिका ‘डेली मेल’ले भारतीय टोली व्यवस्थापनको पिचबारेको अनुरोधलाई आईसीसीले स्वीकार गरी परिवर्तन गरेको र नयाँ पिचको सट्टा पुरानो पिचमा खेल खेलाइएको दाबी गरेको छ।

खेलपछिको पत्रकार सम्मेलनमा न्यूजिल्यान्डका कप्तान केन विलियम्सनले खेल पुरानो पिचमा खेलिएको बताउँदै विवादको विषय नभएको स्पष्ट पारे। उनले राम्रो पिच भएकोसमेत बताए।

विलियमसनले के भने?
यो सत्य हो कि यो एक प्रयोग गरिएको विकेट थियो, तर मैले यो धेरै राम्रो पाएँ। उनीहरू(भारत)ले खेलको पहिलो हाफमा पिचबाट राम्रो फाइदा उठाए। उनीहरूले साँच्चै राम्रो खेल खेले।

यस प्रतियोगितामा यहाँसम्म आइपुग्नु र अगाडि जान नसक्नु अवश्य पनि निराशाजनक छ। तर पछिल्लो सात हप्ताको यात्रालाई हेर्यौँ भने हामीले एक राम्रो र बलियो टोलीसँग हारेका छौँ।

भारत विश्वको उत्कृष्ट टोली हो र उनीहरू अहिले आफ्नो उत्कृष्ट क्रिकेट खेलिरहेका छन्। यस्तो अवस्थामा उनीहरूलाई जित्न गाह्रो छ। उनले यो पूरै प्रतियोगितामा देखाएको खेल अविश्वसनीय छ।

उनीहरू पूर्ण आत्मविश्वासका साथ फाइनल पुग्नेमा कुनै शंका छैन।

के हो विवाद?
भारत र न्यूजिल्याण्डबीचको सेमिफाइनल खेल पहिला पिच नम्बर सातमा खेलाउने तय भएको थियो, जुन पूर्णतया नयाँ पिच हो।

तर, मंगलबार एक ह्वाट्सएप ग्रुपमा बीसीसीआई र आईसीसीका ५० भन्दा बढी अधिकारीहरूलाई एक म्यासेज पठाइएको थियो।

पहिलो सेमिफाइनल खेल ६ नम्बरको पिचमा हुने पक्का भएको छ। जहाँ इङ्ल्यान्डविरुद्ध दक्षिण अफ्रिका र भारत र श्रीलंकाबीचको खेल भएको थियो।

यसैबीच भारतीय पूर्वक्रिकेटर सुनिल गावस्करले ‘इण्डिया टुडे’लाई दिएको अन्तरवार्तामा यो पिच सबै टोलीका लागि हो भएकाले बहस नहुनुपर्ने बताए।

‘मेरो विचारमा अहिलेको भारतीय टोलीले जुनसुकै पिचअनुसार पनि खेल्न सक्छ। प्रतियोगिताको अहिलेसम्मको चरणमा त्यस्तो देखिएको पनि छ। यदि पिच सुख्खा छ भने यसले वर्षाको मौसम सकिइसकेको र आर्द्रता सकिसकेको भन्ने बुझिन्छ।’

गावस्करले थपे, ‘मलाई लाग्छ यो सामान्य कुरा हो। खेलअघि तपाईंसँग लेख्नको लागि केहि छैन भने तपाईंले आफ्नो स्तम्भ भर्नका लागि अनेक लेख्नुहुन्छ। यदि टसपछि पिच परिवर्तन भएको थियो भने बहस हुनुपर्छ।’

कात्तिक ३०, २०८० बिहीबार ११:२७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।