चीनले शुरू गर्‍यो विश्वकै तीव्र गतिको इन्टरनेट सेवा, एक सेकेन्डमा १५० एचडी फिल्म पठाउन सकिने

चीनले शुरू गर्‍यो विश्वकै तीव्र गतिको इन्टरनेट सेवा, एक सेकेन्डमा १५० एचडी फिल्म पठाउन सकिने

एजेन्सी : चिनियाँ प्रविधि कम्पनी हुवावे टेक्नोलोजीले विश्वको सबैभन्दा छिटो इन्टरनेट सेवा शुरू गरेको छ।

कम्पनीले आफ्नो नेटवर्क १.२ टेराबिट (Tb)प्रति सेकेन्डको गतिमा डाटा ट्रान्समिट गर्न सक्षम रहेको दाबी गरेको छ।

हुवावे टेक्नोलोजीका उपाध्यक्ष वाङ लेईलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ, ‘यो नेटवर्कले एक सेकेन्डमा १५० हाई-डेफिनिसन (एचडी) चलचित्र बराबरको डाटा ट्रान्समिट गर्न सक्छ। यसबाहेक, यसले नेटफ्लिक्सको विश्वव्यापी कन्टेन्ट पठाउन सक्छ।’

एक टीबीमा १०२४ जीबी हुन्छ।

परीक्षणको लागि जुलाइमा एक्टिभ गरिएको यो इन्टरनेटलाई अब भने आधिकारिक रूपमा लन्च गरिएको छ। नेटवर्कले सबै अपरेशनल टेस्ट पास गरेको छ।

यसका लागि सिङ्गुआ युनिभर्सिटी, चाइना मोबाइल, हुवावे टेक्नोलोजी र सर्नेट कर्पोरेशनले मिलेर काम गरेका थिए।

अमेरिका र दक्षिण कोरियाभन्दा १० गुणा तीव्र
कम्पनीले विश्वको पहिलो नेक्स्ट जेनेरेशन फाइबर इन्टरनेट सेवासमेत शुरू गरेको छ, जुन अमेरिका र दक्षिण कोरियाको तुलनामा १० गुणा छिटो हो।

तीन हजार किलोमिटरभन्दा बढी अप्टिकल फाइबर केबलिङमा फैलिएको नयाँ ब्याकबोन नेटवर्कले १.२ टेराबिट (१२०० गीगाबिट) प्रति सेकेन्डमा डाटा पठाउँछ।

यो नेटवर्कले उत्तरमा बेइजिङ, मध्य चीनको वुहान र दक्षिणी प्रान्त ग्वाङ्जाउलाई जोड्नेछ।

विश्वका धेरैजसो ठाउँमा १०० गीगाबिट प्रतिसेकेण्डको गति
टेक उद्योगका कतिपय विज्ञले सन् २०२५ को आसपास १ टेराबिट प्रतिसेकेन्ड अल्ट्रा-हाइ-स्पीड नेटवर्क शुरू हुने भविष्यवाणी गरेका थिए।

विश्वका अधिकांश इन्टरनेट ब्याकबोन नेटवर्कहरू हाल १०० गीगाबिट प्रति सेकेन्डमा काम गरिरहेका छन्। अमेरिका यसमा पछि थियो। हालै उसले पनि त्यो गतिलाई भेट्टाएको छ।

चाइनिज एकेडेमी अफ इन्जिनियरिङका इफआईटीआई परियोजना प्रमुख वु जियानपिङले सुपरफास्ट लाइन सफलतापूर्वक सञ्चालन मात्र नभएर चीनले अझ छिटो इन्टरनेट बनाउने काम गरिरहेको बताए।

सबैभन्दा छिटो डेटा ट्रान्सफरको कीर्तिमान जापानको नाममा
जापानले विश्वमा सबैभन्दा छिटो डाटा ट्रान्सफरको रेकर्ड राखेको छ।

त्यहाँको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि संस्थान (एनआईआईसीटी)को प्रयोगशालामा गरिएको परीक्षणमा इन्टरनेटको गति प्रतिसेकेन्ड ३१९ टेराबाइट (TB) रहेको थियो।

यसअघि गत वर्ष यस्तै परीक्षणमा यो गति १७८ टेराबाइट (TB) प्रतिसेकेन्ड थियो। यो गतिमा एक सेकेण्डमा ५७ हजार चलचित्र डाउनलोड गर्न सकिन्छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पनि ४४० गीगाबाइट प्रति सेकेन्डको इन्टरनेट स्पीड प्रयोग गर्छ।

कात्तिक ३०, २०८० बिहीबार ०८:२७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।