विश्वकप छनोटको दोस्रो चरणमा नेपाल, आज दुबईमा युएईसँग भिड्दै

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल, आज दुबईमा युएईसँग भिड्दै
तस्बिर- अखिल नेपाल फुटबल संघ (एन्फा)

काठमाडौं : फिफा विश्वकप २०२६ एसिया छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा बिहीबार नेपालले युएईसँग खेल्दैछ।

समूह ‘एच’अन्तर्गत दुबईको अल मकूम स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति साढे ९ बजे सुरु हुनेछ।

नेपाल आफूभन्दा १ सय ४ स्थानमा माथि रहेको यूएईलाई स्तब्ध पार्दै दोस्रो चरणको छनोटमा सुखद् सुरुवात गर्न चाहन्छ।

विश्व वरीयताको १ सय ७३औं स्थानमा रहेको नेपालले अन्तिम खेलमा लाओसलाई पराजित गर्दै छनोटको दोस्रो चरणमा स्थान बनाएको थियो।

घरेलु लेग १-१ को बराबरीमा सकिए पनि दोस्रो लेगमा १-० को जितसहित समग्रमा नेपालले लाओसविरुद्ध २-१ को नतिजा निकालेको थियो।

डिफेन्डर योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र फरवार्ड राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

अभ्यासका क्रममा घुँडामा चोट लागेका अनुभवी डिफेन्डर अनन्त तामाङको अनुपस्थितिले नेपालको रक्षापंक्तिमा केही चुनौती थपिनेछ।

यूएई समूहको बलियो टोली भए पनि नेपालको तयारी राम्रो भएको र प्रशिक्षकको रूपमा आफूसँग बलिया टोलीविरुद्ध खेलेको अनुभव भएका कारण नेपाली युवा टोलीले उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसका विश्वास छ।

६९औँ वरियताको युएई सन् १९९० पछि विश्वकपमा छनोट हुने योजनामा छ। अन्तिम चार खेलमा अपराजित युएईका प्रशिक्षक पाउलो बेन्टोले अनुभवी फरवार्ड अली माब-खाउट लाई टिममा सामेल गरेका छन्।

कात्तिक ३०, २०८० बिहीबार ०७:५७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।