बाबरको राजीनामापछि पाकिस्तानको टी-२० र टेस्ट क्रिकेटको कप्तानी शाहिन र शानलाई
काठमाडौं : पाकिस्तानले टी-२० क्रिकेट टीममा शाहिन शाह अफ्रिदी र टेस्टमा शान मसुदलाई नयाँ कप्तान नियुक्त गरेको छ।
बाबर आजमले तीनवटै फर्म्याटको कप्तानी छोडेपछि पाकिस्तान क्रिकेट बोर्डले यस्तो निर्णय गरेको हो।
पाकिस्तानले भविष्यमा कुनै पनि एकदिवसीय खेल खेल्ने तालिका छैन। त्यसकारण पनि बोर्डले तत्काल ओडीआई कप्तानको नाम घोषणा गरेको छैन।
बाबरले कप्तानी छोडेपछि पीसीबीले विज्ञप्ति जारी गर्दै उनलाई टेस्टमा कप्तानी जारी राख्ने विकल्प दिएको बताएको थियो।
पीसीबीका अध्यक्ष जाका अशरफले भने, ‘परिवारसँग कुरा गरेपछि बाबरले कप्तानबाट राजीनामा दिने निर्णय गरेका छन् र पीसीबीले उनको निर्णयलाई समर्थन गर्दछ। पीसीबीले उनको निर्णयलाई सम्मान गर्छ र एक खेलाडीको रूपमा पनि समर्थन गर्दछ। बाबर आजम विश्व स्तरीय खेलाडी हुन्। हामी उनलाई खेलाडीको रूपमा विकसित भएको हेर्न चाहन्छौँ। उनी पाकिस्तानले अहिलेसम्म उत्पादन गरेका उत्कृष्ट ब्याट्सम्यानमध्ये एक हुन्।’
३४ वर्षीय मसूदलाई कप्तान बनाउनु अलि अचम्मको निर्णय हो किनभने करिब एक दशकअघि टेस्ट डेब्यू गरे पनि उनले टोलीमा आफ्नो स्थान कायम गर्न सकेका छैनन्।
उनी लगातार दुई वा तीन टेस्टपछि टोलीबाट बाहिरिएका छन् भने धेरैजसो समय टोली बाहिर बिताएका छन्। उनले गत वर्षको अन्त्यमा इङ्ल्यान्ड र न्युजिल्याण्ड विरुद्धको टेस्ट शृङ्खलामा पुनरागमन गरेका थिए। तर जुलाईमा श्रीलंकाविरुद्ध १७ इनिङ्स खेलेपछि उनको पहिलो अर्धशतक आएको थियो।
मसुदको पहिलो जिम्मेवारी अष्ट्रेलिया भ्रमण हो। अष्ट्रेलिया भ्रमणमा पाकिस्तानले पछिल्ला १४ टेस्टमा हार बेहोरेको छ भने पछिल्ला पाँच शृङ्खला उसले स्विप गरेको छ।
२३ वर्षीय शाहिन बाबरपछि छोटो ढाँचामा कप्तानको भूमिकामा देखिएका थिए र उनको पहिलो सिरिज पनि अस्ट्रेलिया भ्रमणको टेष्ट सिरिजपछि मात्र आउनेछ। अष्ट्रेलिया भ्रमणमा टेष्ट खेलेपछि पाकिस्तानी टोली ५ टी-२० खेलको शृंखला खेल्न न्युजिल्याण्ड जानेछ।
अर्को वर्ष हुने टी-२० विश्वकपको तयारीका लागि पाकिस्तानको यो पहिलो टी-२० सिरिज हुनेछ। शाहिनलाई पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सको फ्रेन्चाइजी कप्तान बनाएको थियो र उनले सफलता पनि पाएका थिए।
शाहिनको कप्तानीमा टोलीले लगातार दुई सिजन उपाधि जितेको थियो र प्रतियोगितामा उपाधि रक्षा गर्ने पहिलो टोली बनेको थियो।
मसूद र शाहिनलाई कप्तान बनाएको केही समयपछि पीसीबीले मोहम्मद हफिजलाई नयाँ टोली निर्देशक नियुक्त गरेको थियो। अहिलेसम्म मिकी आर्थर भूमिकामा देखिएका छन्। आर्थरलाई हटाइएको छैन, तर उनी टोलीसँग यात्रा गर्ने छैनन्।
कात्तिक ३०, २०८० बिहीबार ०७:४१:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।