पाकिस्तानी क्रिकेट टीमको कप्तानबाट बाबरले दिए राजीनामा
काठमाडौं : भारतमा जारी विश्वकपमा निराशाजनक प्रदर्शनपछि बाबर आजमले पाकिस्तानी टीमको कप्तानबाट राजीनामा दिएका छन्।
प्रतियोगितामा खराब प्रदर्शनपछि त्यहीबीचमा उनको कप्तानीलाई लिएर प्रश्न उठेको थियो र हटाउनुपर्ने चर्चासमेत चलेको थियो।
बोर्डले हटाउनुअघि नै बाबर आफैँले सामाजिक सञ्जाल पोस्टमार्फत कप्तानबाट राजीनामा दिएको घोषणा गरेका छन्।
बाबरले लेखेका छन्, ‘मलाई राम्रोसँग याद छ जब मलाई पीसीबीले २०१९ मा पाकिस्तानको कप्तान बनाउन बोलाएको थियो। पछिल्ला चार वर्षमा, मैले मैदानमा र बाहिर धेरै उतारचढावहरू देखेको छु। यस अवधिमा मैले मन, मुटु र जोशका साथ काम गरेँ। क्रिकेट जगतमा पाकिस्तानको गौरव कायम राख्नु थियो, सेतो बल क्रिकेटमा नम्बर एक टोली बन्नु खेलाडी, प्रशिक्षक र व्यवस्थापनको संयुक्त प्रयासको परिणाम हो, तर म पाकिस्तानका क्रिकेट फ्यानहरूलाई पनि धन्यवाद दिन चाहन्छु किनभने उनीहरूले मलाई यो यात्रामा साथ दिनुभयो।’
बाबरले २०२३ को विश्वकपमा पनि खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन् र नौ खेलमा ४० को औसतमा ३२० रन मात्र बनाएका थिए। तर, उनी पाकिस्तानका लागि तेस्रो सर्वाधिक रन बनाउने खेलाडी बने।
पाकिस्तानले प्रतियोगितामा खेलेका नौ खेलमध्ये पाँच खेलमा हार र चारमा मात्रै जित निकालेको थियो। उसले आठ अंक जोडेर प्रतियोगिताको पाँचौ स्थानमा रह्यो।
बाबरले थप लेखेका छन्, ‘आज मैले सबै ढाँचामा पाकिस्तानको कप्तानी छोड्दैछु। यो कठिन निर्णय हो, तर मलाई लाग्छ कि यो यसको लागि सही समय हो। म पाकिस्तानका लागि तीनै ढाँचामा खेलाडीको रूपमा खेलिरहनेछु। म आफ्नो अनुभव र समर्पणका साथ नयाँ कप्तान र टोलीलाई समर्थन गर्न चाहन्छु। यो जिम्मेवारीका लागि विश्वास गरेकोमा पाकिस्तान क्रिकेट बोर्डलाई पनि धन्यवाद।’
पाकिस्तान क्रिकेट बोर्डको मुख्यालयमा लामो बैठकपछि बाबरले कप्तानी छोडेका हुन्। उनले कप्तानी छोड्ने सही समयबाहेक कुनै ठोस कारण भने दिएका छैनन्।
कात्तिक ३०, २०८० बिहीबार ०७:३२:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।