तिहारको मुख्य दिन : भाइटीका, साइत बिहान १० बजेर ५१ मिनेटमा
काठमाडौं : आज हिन्दु नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर मनाइँदैछ।
कार्तिक शुक्लपक्षको द्वितीया यमद्वितीया हो। यसलाई भ्रातृद्वितीया पनि भनिन्छ। यसैलाई नेपालमा भाइटीकाका रूपमा मनाइन्छ। महाभारत, स्कन्दपुराण, लिंगपुराण, पद्मपुराण आदि ग्रन्थमा यमद्वितीयाको चर्चा पाइन्छ।
पौराणिक आख्यानअनुसार मृत्युका देवता यमराज यमपञ्चकका अवसरमा बहिनी यमुनालाई भेट्न उनका घर गए। यमुनाले प्रेमपूर्वक दाजुको स्वागत सत्कार गरिन्, भोजन गराइन्।
बहिनीसँग प्रसन्न भएका यमराजले अबदेखि प्रत्येक वर्ष यमद्वितीयाका दिन जसले दिदीबहिनीका घरमा भोजन गर्छन् र दिदीबहिनीलाई दक्षिणा आदि दिन्छन् ती दुवै दाजुबहिनी अथवा दिदीभाइले आयु, आरोग्य र कीर्ति प्राप्त गर्नेछन् भन्ने वरदान दिए। यहीँदेखि भाइटीकाको परम्परा बसेको हो।
भाइटीकाका दिन दाजुभाइहरू दिदीबहिनीका घरमा गएर भोजन गर्नुपर्ने हो तापनि आफ्नो अनुकूलतामा दिदीबहिनी दाजुभाइका घर जाने अथवा दाजुभाइ दिदीबहिनीका घर जाने गरेर भेटघाट गर्ने, टीका लगाउने, उपहार र दक्षिणा दिने गरिन्छ।
सहोदर दिदीबहिनी नहुनेहरूले नजिकका दिदीबहिनीसँग पनि टीका लगाउँछन्। काठमाडौंमा दिदीबहिनी नहुनेहरू रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको दर्शन गर्छन्। यो मन्दिर भाइटीकाका दिन मात्र खोल्ने चलन छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त यो मन्दिर अहिले पुनःनिर्माण भएर उद्घाटनसमेत भइसकेको छ।
भाइटीका लगाउँदा टीका लगाउने ठाउँमै अथवा लक्ष्मीपूजा गरेको ठाउँमा टीका लगाउने र लगाइदिने दुवैले दीप, कलश, गणेशको पूजा गरी अष्टचिरञ्जीवी, यमराज, यमुना, चित्रगुप्त र यमराजका सहयोगीहरूको पनि पूजा गर्नुपर्छ।
अष्टचिरञ्जीवी मार्कण्डेय, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य, अश्वत्थामा र परशुराम हुन्। यिनीहरूलाई तिनैका नाम उच्चारण गरेर पूजा गर्न सकिन्छ। यमराजको प्रार्थना यसरी गरिन्छ-
धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज ।
पाहि मां किंकरैः साद्र्धं सूर्यपुत्र नमोऽस्तु ते ।।
यमुनाको प्रार्थना यसरी गरिन्छ-
यमस्वसुर्नमस्तेऽस्तु यमुने लोकपूजिते ।
वरदा भव मे नित्यं सूर्यपुत्रि नमोऽस्तु ते ।।
यसरी आवाहित देवदेवीको पूजा-अर्चना गरेपछि अघ्र्य दिनुपर्छ। त्यसपछि बल्ल भाइटीकाको काम सुरु हुन्छ।
भाइटीका लगाउँदा टीका लगाउने दाजुभाइ चन्द्रमा सम्मुख वा दाहिने हुने गरी बस्नुपर्छ। टीका लगाउनुअघि दिदीबहिनीले तेलले वरिपरि छेकेर दाजुभाइको पूजा गर्ने चलन छ। पूजा-सामग्रीले दाजुभाइलाई पूजा गरेर टीका लगाइदिइन्छ। बहिनीले दाइलाई टीका लगाएर भोजन दिँदा भन्ने मन्त्र यो हो-
भ्रातस्तवानुजाताहं भुङ्क्ष्व भोज्यमिदं शुभम् ।
प्रीतये यमराजस्य यमुनाया विशेषतः ।।
दिदीले भाइलाई टीका लगाइदिने हो भने यो मन्त्र भनिन्छ-
भ्रातस्तवाग्रजाताहं भुङ्क्ष्व भोज्यमिदं शुभम् ।
प्रीतये यमराजस्य यमुनाया विशेषतः ।।
दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर प्रार्थना गर्नुपर्छ। त्यसबेला भन्ने मन्त्र हो-
त्वं लक्ष्मीस्त्वमपर्णासि ब्राह्मी त्वं च सरस्वती ।
त्वत्पूजनात् भवेयुस्ताः पूजिता मम सर्वदा ।।
टीका लगाएपछि गच्छेअनुसार दक्षिणा र उपहार पनि दिइन्छ। दिदीबहिनीले ‘मेरा दाजुभाइका शत्रु नाश होऊन्’ भन्दै ढोकामा ओखर फोर्ने चलन छ।
भाइटीका लगाएपछि आवाहन गरेर पूजा गरिएका देवीदेवतालाई अर्घ्य दिएर विसर्जन गर्नुपर्छ।
भाइटीकाको शुभसाइत
पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बिहान १० बजेर ५१ मिनेटको समय उत्तम रहेको जानकारी दिए। यद्यपि दिनभर टीका लगाउन सकिने उनले बताए। बुधबार १९ घडी ९ पला अर्थात् २ बजेर ५ मिनेटसम्म द्वितीया तिथि रहेको पञ्चाङ्गले जनाएका छन्।
कात्तिक २९, २०८० बुधबार ०७:१२:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।