पर्यटनमन्त्री किराँतीको दाबी 'सम्वृद्धिको नेतृत्व प्रचण्डबाट मात्र सम्भव छ'

पर्यटनमन्त्री किराँतीको दाबी 'सम्वृद्धिको नेतृत्व प्रचण्डबाट मात्र सम्भव छ'

काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले सम्वृद्धिको नेतृत्व प्रचण्डबाट मात्र सम्भव रहेको दाबी गरेका छन्।

उनले प्रचण्ड नेतृत्वको सरकार प्रजातन्त्र स्थापनापछि कै सबैभन्दा साहसिक भएको दाबी समेत गरे।

भक्तपुरमा नेपाल संवत् ११४४ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भुटानी शरणार्थी, मिटरव्याजीलगायतका साहसिक काम प्रचण्ड नेतृत्वको सरकारले गरेको जिकिर गरे।

‘प्रजातन्त्रपछिको कयौँ सरकारहरूले यति साहसिक काम गरेको थिएन। मिटरव्याजीको कुरा होस् चाहे भुटानी शरणार्थीको कुरा होस्। चाहे बालुवाटारको जग्गा बेचेर खाने देश घातीहरूको कुरा होस्। यी सबै प्रचण्ड सरकारले गरेको हो’ उनले भने।

उनले प्रचण्डले जति राम्रो काम गरे पनि त्यसलाई नकारात्मक ढङ्गले प्रस्तुत गर्ने गरिएको तर्क गरेका थिए।

‘यदि हामीले दूध र पानी छुट्टाउन सकिएन भने इतिहासदेखि अहिलेसम्म भोगिरहेको नियति फेरी पनि भोगिराख्नु पर्छ। जसरी पनि खोट लगाउने हाम्रो संस्कृति बनेको छ। यो अचम्मको कुरा छ’ उनले भने ‘परिवर्तनको रक्षा, सम्वृद्धिको नेतृत्व प्रचण्डबाट सम्भव छ भन्ने मलाई लाग्छ किनभने युद्ध र शान्तिको नेतृत्व उहाँले गर्नुभयो।’

कात्तिक २८, २०८० मंगलबार १३:२०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।