जाजरकोट भूकम्पमा परि घाइते भएका ४८ जना  भेरी अस्पतालबाट डिस्चार्ज

जाजरकोट भूकम्पमा परि घाइते भएका ४८ जना  भेरी अस्पतालबाट डिस्चार्ज
फाईल फोटो

काठमाडौं : गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकमपमा परि घाइते भइ बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४८ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन्।

घाइते भएर ल्याइएका ४८ जना निको भएपछि डिस्चार्ज गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

‘सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अब भेरीमा शल्यक्रिया गरिएका छ जना बिरामीमात्रै हुनुहुन्छ’, उनले भने।

भूकम्पमा परि घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो। भूकम्पका घाइतेको उपचार गर्न भेरी अस्पताललाई भूकम्प विशेष अस्पताल  नै बनाइएको थियो। 

५८ जना उपचारका लागि लगिएमा ४८ जना निको भएर घर फर्किसकेका छन् भने तीन जनालाई थप उपचारका लागि राजधानी काठमाडौं ल्याइएको थियोे।

भूकम्पमा परि १५४ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए। भूकम्पबाट २६ हजार पाँच सय ५७ घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो।

कात्तिक २८, २०८० मंगलबार १३:०८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।