गृहमन्त्री हटाएपछि बेलायती प्रधानमन्त्रीविरुद्ध आफ्नै पार्टीका सांसदद्वारा अविश्वासको प्रस्ताव ल्याउने तयारी

गृहमन्त्री हटाएपछि बेलायती प्रधानमन्त्रीविरुद्ध आफ्नै पार्टीका सांसदद्वारा अविश्वासको प्रस्ताव ल्याउने तयारी

एजेन्सी : प्रधानमन्त्री ऋषि सुनकले बेलायतकी गृहमन्त्री सुएला ब्रेभरम्यानलाई हटाउने निर्णयको आफ्नै पार्टीभित्रै विरोध भइरहेको छ।

ऋषि सुनकको कन्जरभेटिभ पार्टीकी सांसद एन्ड्रिया जेन्किन्सले प्रधानमन्त्रीको निर्णयविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेकी छन्।

हाउस अफ कमन्समा कन्जरभेटिभ पार्टीको संसदीय समूह, १९२२ कमिटीका अध्यक्ष सर ग्राहम ब्राडीलाई लेखेको एक पत्रमा जेन्किन्सले भनेकी छन्, ‘अब एकदम धेरै  भयो!’

उनले यो पत्र आफ्नो सामाजिक सञ्जाल साइट एक्सको ह्यान्डलमा पनि पोस्ट गरेकी छन्।

आफ्नो अविश्वास पत्र उनले 1922 समितिको अध्यक्षलाई बुझाएकी छन्। अब ऋषि सुनकको जाने र उनको स्थानमा ‘वास्तविक’ कन्जरभेटिभ पार्टीको नेता नियुक्त गर्ने समय आएको उनले बताएकी छन्।

उक्त पत्रमा उनले सुनकको आलोचना गर्दै लेखेकी छन्, ‘लोकतान्त्रिक तरिकाबाट चुनिएका हाम्रा नेता बोरिस जोनसनलाई हटाउन ऋषिले  कूटनीतिक प्रयास गरे।’

उनका अनुसार जोन्सनलाई बर्खास्त गर्नु ‘अक्षम्य’ थियो भने सुएलालाई मन्त्रिपरिषद्बाट बर्खास्त गर्नु झन् खराब निर्णय हो।

वास्तवमा, ब्रेभरम्यानले लन्डन पुलिसलाई प्यालेस्टाइन समर्थक भएको आरोप लगाउँदै लेख लेखेका थिए, जसकारण प्रधानमन्त्री सुनक खुसी थिएनन्।

उनले प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूप्रति प्रहरीले निकै उदार व्यवहार अपनाइरहेको बताएका थिए।

तर, सुनकविरुद्ध उनको दलका १५ प्रतिशत सांसदले अविश्वासको पत्र बुझाएपछि मात्रै उनीविरुद्ध अविश्वासको प्रस्ताव आउनेछ।

सोमबार प्रधानमन्त्री सुनकले अचानक सुएला ब्रेभरम्यानलाई बर्खास्त गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । सुनकले पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेर सबैलाई चकित पारेका छन्।

कात्तिक २८, २०८० मंगलबार ०८:१९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।