घडीको बजार बदलियो तर बदलिएनन् मशाकाजी, स्मार्टवाच आए पनि उनलाई दमवाला घडी नै प्यारो
रञ्जना गल्ली छिर्ने बित्तिकै दायाँ साइडको 'घडी क्लिनिक'मा वर्षौंदेखि घडी मर्मत गर्दै आइरहेका छन् मशा काजी महर्जन। वरपर सानो ठूलो घडीको बीचमा बसेर उनी आफ्नो काम गरिरहन्छन्। बिहान साढे दश बजेदेखि बेलुका छ बजेसम्म उनी पसलमै हुन्छन्।
यस बीचमा घडीको प्रकार देखि ग्राहकको घडीप्रतिको रूचिसम्म उनले नजिकबाट नियाल्न पाए। प्रयोगकर्ताको रुचि बदलियो। घडीको आकार-प्रकार बदलिए। तर उनको दैनिक बदलिएको छैन। ४५ वर्ष उसैगरी बिताए उनले।
ठूलो परिवारको जेठो छोराको रूपमा जन्मिएका उनले सानोदेखि घरको जिम्मेवारी सम्हाल्नु पर्यो। पाँच कक्षा पढ्दै गर्दा उनको बुवा बिते। त्यसपछि पढाइलाई रोक्नु पर्यो। त्यै बेला उनको काकाले नयाँ सडकको एउटा घडी पसलमा काम लगाइदिए। त्यसयता उति त्यतै छन्।
'दुई-तीन वर्षसम्म पढिन। त्यसपछि पढ्न मन लाग्यो। अनि साथीको मार्कसिट लिएर आठ कक्षामा भर्ना भए। १२ कक्षा सम्म पढेँ। १४ वर्षको उमेरदेखि यो काम गरेको हो। काम सुरु गरेको नै ४५ वर्ष भइसकेछ,' उनले हाँस्दै सुनाए।
यहाँ आउनुभन्दा अगाडि उनलाई पनि खूब घडीको इच्छा रहेछ। घरमा एकजना सदस्यको हातमा घडी हुनु नै ठूलो कुरा मानिने समयमा थियो त्यो। उनलाई आफ्नो बा'ले लगाएको जस्तै घडी लगाउने मन रहेछ। बा भइञ्जेलसम्म उनले घडी लगाउन पाएनन्। त्यै भएर पनि उनले अहिलेसम्म आफ्नो बा को पुरानो घडी सम्हालेर राखेका छन्।
उनको बा डकर्मी काम गर्थे। ज्यामी काम गर्दागर्दै मशालाई सबै जिम्मा लगाएर संसारबाट विदा भए उनको बा। त्यै भएर पनि काम र घडीप्रति उनको विशेष मोह छ।
काम गर्न थालेको तीन महिनामै एउटा घडी त उनले पनि हातमा ढल्काउन पाए। त्यस दिन उनले आफ्नो बा'लाई खूब सम्झे रे। पहिलो पटक सय रूपैयाँ हातमा पारिश्रमिक स्वरूप पाएको उनी अहिले पनि सम्झन्छन्।
सीमितले मात्र घडी लगाउँथे !
'खोल्यो, जोड्यो। पहिला त त्यस्तै त हो नि। फिटिङ गर्न पनि पछि पो सिकाएको। त्यसबेला फेरी घडी लगाउने मान्छे पनि धेरै थिएनन्। कोहिले बनाउन आए भने मात्र हो सिक्न पाउने। फेरी कति महँगो हुन्थ्यो,घडीहरू! त्यै भएर पनि सिक्न धेरै समय लाग्यो,' उनले सम्झिँदै भने,'त्यो बेला घडी कम थियो। अटोमेटिक, दम दिने, ब्याट्रीबाट चल्ने भन्दा बढी चाबी लगाउनेहरू धेरै थियो। बनाउन पनि धेरै समय लाग्ने। सामान पनि महँगो हुने। त्यही पनि यहाँको दाइहरूले गरेको हेर्दा हेर्दै सिकियो।'
उनका अनुसार पहिला घडीको प्रकार नै धेरै थिएनन्। हाते घडीहरूमा धड्कन अनुसार चल्ने केही थिए। त्यस बाहेक भनेको अटोमेटिक र हाते र भित्ते दुवैमा दम दिने घडीहरुनै थिए। तर , अहिले भने ब्याट्रीवाला घडीले बजार ओगटिसक्यो।
'पहिला त एउटा घरमा एउटा घडी पनि हुन्थेन। अहिले त एउटा मान्छेले नै आठ/दश वटा राख्ने गर्छ। घर बस्ने एउटा, घुम्न जाने एउटा अनि पार्टीमा जाने, अफिसमा जाने सब हुने रहेछ। पहिला एउटा घडी लाउनु नै शौक थियो। अहिले चैं घडी फेसन नै भयो। अहिले स्मार्ट वाच लगाउन थालिसके। त्यो बिग्रियो भने यता सामानै पाइँदैन।'
अहिलेको ग्राहक र पहिलेको ग्राहकमा उनले धेरै भिन्नता पाएका छन्। यो फरकपन उनलाई खासै मन परेको छैन। उनलाई आज पनि विराटनगरदेखि घडी बनाउन आएको ग्राहक नै प्रिय लाग्छन्। भक्तपुरदेखि एउटा पिन हाल्न आउने, दम दिन आउने ग्राहक मन पर्छन्। उनीहरू बिग्रेको घडीसँगै आफूसँग धेरै कुराहरू बोकेर आउँथे। उनलाई यहाँ बस्दाबस्दै बोर लागेको बेला गफ गर्दै काम गर्न साथी पनि हुन्थे।
पहिला घडी महँगा थिए। तर विश्वास गर्थे ग्राहकले। निकै महँगो भए पनि मर्मत गर्न छाडेर जान हिँच्किचाउँदैनथे। तर अहिले सस्ता घडीहरू पनि आएका छन्। तै पनि अहिलेका ग्राहकहरू सामान छोडेर जान पनि अप्ठ्यारो मान्छन्।
त्यस्तो देख्दा उनलाई पनि सामान लिन अप्ठ्यारो लाग्छ रे।
'समय नै त्यस्तै छ। विश्वास भन्ने नै छैन। विश्वास नभएको ठाउँमा काम गर्न गाह्रो हुन्छ। अहिलेको ग्राहकले ल्याउने घडीबाट बजारमा कस्तो घडी चलेको छ भन्ने थाहा हुन्छ। पहिलाको ग्राहकहरूमा घडीप्रतिको माया पनि देखिन्थ्यो,' मुस्कुराउँदै उनले भने।
'घडी लाउने कम हुँदा बरु व्यापार राम्रो थियो'
नयाँ सडकको चोकमै भएकाले उनले धेरै भन्दा धेरै व्यक्ति र घरको घडी बनाउन पाए। त्यसबेला व्यक्ति भन्दा पनि उनीहरूको काम गर्नेहरू घडी बनाउन पसलमा आउँथे। त्यसबेला सबैभन्दा धेरै दरबारबाट सामानहरू आउने गरेको उनले सुनाए।
उनका अनुसार त्यसबेला यही टोलमा करिब आधा दर्जन घडी पसल थिए। व्यापार राम्रै हुन्थ्यो। अहिले बनाउने भन्दा किन्ने धेरै आउँछन्, तर पनि व्यापार खासै उत्साहजनक छैन।
राम्रो घडीहरू हजार, १५ सयमै आउने भएकाले उनी आफै पनि अहिले बनाउनु भन्दा नयाँ किन्नु नै सुझाव दिन्छन्। निकै पुरानो हो भने त्यसलाई नलगाएर सुरक्षित राख्दा राम्रो हुने उनको सुझाव छ।
किन भने अब त्यस्तो सामान बजारमा पाइँदैन। त्यसलाई झन् किन बिगार्नु। नत्र नयाँ नै किन्दा राम्रो हुने उनले सुझाव दिए।
उनको पसलमा धेरै मेसिन र मिटरहरू छन्। तर, अहिलेको नयाँ घडीमा त्यसको धेरै प्रयोग गर्नु पर्दैन। अहिले ब्याट्री फेर्दैमा काम हुने घडीहरू धेरै भएकाले त्यसको काम पन छैन।
घडीको सुईदेखि यसको भित्री मसिनो सामानहरू खेल्दाखेल्दै उनको हातमा गहिरो प्वालका दागहरू प्रशस्त देखिन्छन्। अहिले पनि दिनमा एक पटक आफ्नो हातबाट रगत बग्ने गरेको उनी बताउँछन्। आधा भन्दा बढी जिन्दगी यसैमा बितेको, घडी र काम प्रतिको मोहले पनि उनलाई झन् ऊर्जा दिइरहेको छ। त्यै भएर पनि उनले अर्को काम गर्ने सोचेनन् ।
उमेर र शरीरले बुढ्यौलीको सङ्केत दिए पनि उनी घडीसँग खेल्न रुचाइरहेका छन्। उनको आँखाको हेर्ने शक्ति तुलनात्मक रूपमा कम भइसके। एकै ठाउँमा बस्दा बस्दै ढाड र घुँडा दुख्न थालेको वर्षौँ भइसक्यो।
तर, पनि काममा उनले कुनै सम्झौता गरेका छैनन्। आज पनि उत्तिकै फुर्तीका साथ मन लगाएर काम गर्छन्।
'यहाँ यस्तो चिसो हुन्छ। बस्दा बस्दा धेरै रोग पनि लाग्यो। केही समय अघि बाथ पनि देखेको थियो,' मलिन आवाजमा उनले भने। अहिले उनीसँग एउटा छोरा र श्रीमती साथमा छन्। एउटा छोरा भने बिदेसिएका छन्।
'घडीको बजार बदलिएजस्तो मेरो समय पनि बदलिएला नि!' बोल्दा बोल्दै उनी एक छिन चुप लागे।
कात्तिक २७, २०८० सोमबार २१:५२:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।