शतक हान्ने अय्यर र राहुल, चर्चा विराट र रोहितको किन?

शतक हान्ने अय्यर र राहुल, चर्चा विराट र रोहितको किन?

एजेन्सी : एकदिवसीय विश्वकप क्रिकेटको अन्तिम लिग खेल भारत र नेदरल्यान्ड्सबीच बैंगलोरको केएम चिन्नास्वामी स्टेडियममा दीपावलीमा खेलिएको थियो।

खेलमा भारतले आफ्ना दुई ब्याट्सम्यान श्रेयस अय्यर र केएल राहुलको शतक तथा शुभमन गिल, कप्तान रोहित शर्मा र विराट कोहलीको अर्धशतकको आधारमा ४१० रनको विशाल स्कोर बनायो।

अय्यर र राहुलले शतक बनाए पनि सामाजिक सञ्जालमा भने विराट कोहली र रोहित शर्माको चर्चा भइरहेको छ।

यद्यपि उनीहरू ब्याटिङका कारण नभई बलिङका कारण चर्चामा आएका हुन्। आइतबारको खेलमा उनीहरू दुवैले नेदरल्याण्ड्सको एक-एक विकेट हात पारे।

आइतबार भएको खेलमा भारतका ९ खेलाडीले बलिङ गरे जुन सन् १९९२ पछि विश्वकपमा पहिलो पटक भएको हो।

आइतबारको खेलमा अय्यर र राहुलबाहेक कप्तान रोहित शर्माले सबैलाई बलिङ गराए। उनी आफैँले पनि बलिङ गरेर विकेट लिए।

कोहलीले नेदरल्यान्ड्सका कप्तान र विकेटकिपर स्कट एडवर्ड्सलाई केएल राहुलको हातबाट क्याच आउट गराए। उनले तीन ओभरमा १३ रन दिएर एक विकेट लिए।

पूर्व भारतीय क्रिकेटर वसीम जाफरले विराटको प्रशंसा गर्दै एम मिम शेयर गरे। जसमा लेखिएको छ, ‘अय्यर र राहुलले उत्कृष्ट शतक बनाए पनि कोहलीले एक विकेट लिएर मेहफिल लुटे।’

अर्को पोस्टमा, ‘बलर’ कोहलीको विकेट उल्लेख गरिएको छ। कोहलीले क्विन्टन डीककदेखि ब्रान्डम मकलमसम्मको विकेट लिएको लेखिएको छ।

अर्को पोस्टमा विराट कोहलीको बलिङ गरे विकेट लिएको भिडियो शेयर गरिएको छ। जसमा विकेट लिएपछि कोहली र उनकी श्रीमती दुवैलाई सेलिब्रेट गरेको देखाइएको छ।

एक प्रयोगकर्ताले कप्तान रोहित शर्माको बलिङको भिडियो शेयर गरेका छन्। उनले नेदरल्याण्डको अन्तिम विकेट लिएका थिए। जसका लागि उनले पाँच बल बलिङ गरेका थिए।

आइतबारको खेलमा नेदरल्याण्डलाई २५० रनमा अलआउट गर्दै भारतले १६० रनकाे ठूलो जित निकालेको थियो।

कात्तिक २७, २०८० सोमबार ०९:४८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।