लक्ष्मी पूजामा विद्युत्को माग १३३ मेगावाटले बढ्यो

लक्ष्मी पूजामा विद्युत्को माग १३३ मेगावाटले बढ्यो

काठमाडौं : यस वर्ष तिहारको लक्ष्मी पूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १ हजार ४३८ मेगावाट रेकर्ड गरिएको छ।

देशको मागलाई पूरा गरी आइतबार भारततर्फ पाँच सय बढी मेगावाट विद्युत् निर्यात गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

साँझ ६ बजे रेकर्ड गरिएको पिक डिमाण्ड १ हजार ४३८ मेगावाट भएको र बचत भएको ५ सय १७ मेगावाट विद्युत् पिक समयमै भारततर्फ निर्यात पनि गरिएको हो।

गत वर्षको तुलनामा यो पटक लक्ष्मी पूजाको साँझ १३३ मेगावाटले विद्युतको माग बढेको प्राधिकरणले जनाएको हो।

गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १ हजार ३०५ मेगावाट थियो।

लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १ हजार ९५५ मेगावाट रेकर्ड गरिएको छ।

गत वर्ष प्रणालीको पिक डिमाण्ड १ हजार ७११ मेगावाट थियो।

कात्तिक २७, २०८० सोमबार ०८:२८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।