प्रतिबन्धित शहरमा रातभर पड्किरह्यो पटका, प्रहरी निरीह भएको कि सेटिङ ?

प्रतिबन्धित शहरमा रातभर पड्किरह्यो पटका, प्रहरी निरीह भएको कि सेटिङ ?

काठमाडौँ : जुन कानुन कार्यान्वयन हुन्न तर राज्यका निकाय त्यही कानुनबारे चर्का कुरा गर्छन् भने बुझे हुन्छ दालमा केही कालो हैन दालै कालो छ। यस पटकको तिहारमा यस्तै देखियो काठमाडौँमा। पटका, भुइचम्पा,रकेट लगायतका सामाग्री तिहारमा मनोरञ्जनका लागि प्रयोग गर्न सरकारले प्रतिबन्ध लगाएको छ। प्रहरीले फेला पार्यो भने पक्राउ गरेर लैजान्छ।

कहिकतै पक्रिएजस्तो नगरेको पनि हैन। प्रहरी जति चनाखो भए पनि गत वर्षको तिहार पनि फाट्टफुट्ट पटका पड्किएकै थिए। भुइचम्पाहरु घुमेकै थिए। तर यस पटक प्रतिबन्ध भन्ने शब्दलाई माथ खुवायो काठमाडौँले।

तिहारको माहौल सुरु भए लगत्तै फाट्टफुट्ट बालबालिकाहरूले रमाइलो गर्न पटक पड्काएर सुरु गरेका कानुनको धज्जी उडाउने क्रम लक्ष्मी पूजाको दिनसम्म आइपुग्दा त सामूहिक अवज्ञाकै शैली लिइसकेको थियो। कानुन अनुसार काठमाडौँ पटका निषेधित सहर हो। तर यही निषेधित शहरमा रातभर पटका पड्किरहे। आतिशवाजी भइरहे।

राज्य संयन्त्र मौन बसिरह्यो। खुल्लमखुल्ला प्रतिबन्धित सामाग्रीको उपभोग भइरहे पनि खुल्ला विक्री भने सुरु भइसकेको छैन। अहिले पनि कारोबारीहरूले खुसुखुसु व्यापार गरेझैँ गर्छन्। जसले पटका पड्काउने रहर गर्छन् उनले चर्को मूल्य बेहोर्नुपर्ने पक्का छ।

कात्तिक २७, २०८० सोमबार ०१:२४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।