विश्वकप क्रिकेट : समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई भारतले दियो ४११ रनको विशाल लक्ष्य
काठमाडौं : विश्वकप क्रिकेटको अन्तिम लिग खेलमा घरेलु टोली भारतले नेदरल्यान्ड्सलाई ४११ रनको विशाल लक्ष्य दिएको छ।
बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा चार विकेटको क्षतिमा ४१० रन बनायो।
उसका लागि श्रेयस अय्यरले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक १ सय २८ रनमा अविजित रहे। उनले १० चौका र पाँच छक्का हिर्काए। लोकेश राहुलले १ सय २ रन बनाए।
त्यस्तै, कप्तान रोहित शर्मा, शुभ्मन गिल र विराट कोहलीले क्र्रमशः ६१, ५१ र ५१ रनको योगदान दिए।
नेदरल्यान्ड्सका पॉल वैन मीकेरेन, रूलोफ वान डेर मेरवे र बास डी लीडेले समान एक एक विकेट लिए। नेदरल्यान्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
भारतले अहिलेसम्म खेलेका सबै आठ खेल जितेर सेमिफाइनलमा पुगेको छ। सेमिफाइनलमा भारतले बुधबार (१५ नोभेम्बर) मुम्बईको वानखेडे स्टेडियममा न्यूजिल्याण्डको सामना गर्नेछ।
जबकि नेदरल्यान्ड्स टोलीले अहिलेसम्म आफ्नो आठ खेलमध्ये दुईमा मात्रै जित हासिल गर्न सकेको छ। भारतले आजको खेल जितेमा २००३ को विश्वकपमा लगातार आठ जितको कीर्तिमानलाई थप सुधार गर्नेछ।
भारतीय टोली : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शामी, जसप्रित बुमराह र मोहम्मद सिराज।
नेदरल्यान्ड्स टोली : स्कट एडवर्ड्स (कप्तान र विकेटकीपर), म्याक्स ओ’डाउड, कोलिन एकरम्यान, सिब्रान्ड एन्जेलब्रेच, बास डे लाइड, तेजा एनडामानुरु, लोगान भ्यान बेक, रोएलोफ भान डर मर्वे, आर्यन दत्त र भ्याल भान मिकरेन।
कात्तिक २६, २०८० आइतबार १८:०५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।