बिरामी पर्न थाले भूकम्प पीडित

बिरामी पर्न थाले भूकम्प पीडित
फाइल फोटो

काठमाडौं : गत कात्तिक १७ गते राति ११ : ४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पका पीडितहरु बिरामी पर्न थालेका छन्। 

बढ्दो चिसो र खुला ठाउँमा रात बिताउनुपर्दा जाजरकोट, रुकुमपश्चिम बझाङ र बाजुरा लगायत जिल्लाका भूकम्प पीडितहरु बिरामी पर्न थालेका हुन्। 

भूकम्पबाट प्रभावित बालबालिका, गर्भवती महिला र वृद्धवृद्धालाई स्वास्थ्यमा समस्या देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमले जनाएको छ।   

त्रिपालको भरमा रात बिताउन बाध्य उनीहरुलाई ज्वरो,रुघाखोकी र निमोनियाले च्याप्न थालेको छ। शौचालय नहुँदा झाडापखला र हैजाको प्रकोप फैलिन सक्ने जोखिम पनि बढेको छ। 

जिल्ला प्रशासन कार्यालय जाजरकोटले जिल्लाका ७ वटै स्थानीय तहका भूकम्प पीडितलाई राहत सामग्री पठाइएको जनाएको छ। 

जिल्लाका भेरी, नलगाड र छेडागाड नगरपालिका तथा कुशे, बारेकोट, जुनीचाँदे र शिवालय गाउँपालिकाका पीडितलाई पहिलो चरण चामल, दाल, त्रिपाल कम्बल–लगायतका सामग्री वितरण गरिएको छ। 

सरकारले एकद्धार प्रणालीबाट वितरण गर्ने भनेको राहत अझै भूकम्पको इपिसेन्टर रामीडाँडाका स्थानीयले पाउन सकेका छैनन्। 

पीडितहरूले पहुँचका आधारमा मात्रै राहत वितरण गरिएको भन्दै असन्तुष्टि समेत जनाएका छन्। 

उता हिमाली जिल्ला बझाङमा गत महिना गएको भूकम्पबाट घरवारविहीन भएकाहरुले समेत सरकारले दिने भनेको राहत सामग्री पाएका छैनन्। 

जाजरकोट भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए। हजारौं घरवारविहीन भएका छन्। 

कात्तिक २६, २०८० आइतबार १७:३२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।