जाजरकोट भूकम्प पीडितलाई अस्थायी आवास निर्माण गर्न  सरकारले ५० हजार दिने

जाजरकोट भूकम्प पीडितलाई अस्थायी आवास निर्माण गर्न  सरकारले ५० हजार दिने
फाइल फोटो

काठमाडौं : गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको विनासकारी भूकम्प पीडितका लागि तत्काल अस्थायी आवास निर्माणका लागि दुई किस्तामा ५० हजार रुपैयाँ दिने विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले निर्णय गरेको छ। 

गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो। 

‘विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ को दफा ५ (१) (ग) को प्रावधान बमोजिम तथा विपद् पीडित उद्धार र राहत सम्बन्धी (सातौ संशोधन मापदण्ड, २०७७ को ३ (च) अनुसार प्रति लाभग्राही परिवारलाई हाललाई  २५-२५ हजार रुपैयाँ गरी ५० हजारका दरले दुई किस्तामा दिइने बताइएको छ। 

यस्तै, बैठकले बझाङ भूकम्प पीडितका लागि पनि अस्थायी आवास निर्माणका लागि ५०–५० हजारका दरले रकम उपलब्ध गराउने यसअघिको निर्णयलाई अनुमोदन गरेको छ।

अस्थायी आवास निर्माण गर्न आवश्यक सामग्री सहज र सुलभ ढङ्गबाट उपलब्ध गराउन निजी क्षेत्रलाई अनुरोध गर्ने, निर्माण प्रक्रियामा सहयोग पुर्याउन राजनीतिक दल, निजी प्रतिष्ठान, सामाजिक, स्वयंसेवी संघ-संस्था एवं सम्बद्ध सरकारी नियहरुलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ। 

कात्तिक २६, २०८० आइतबार १६:१४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।