जाजरकोट भूकम्प प्रभावितको सहयोगका लागि आइएफआरसी आपत्कालीन अपिल

जाजरकोट भूकम्प प्रभावितको सहयोगका लागि आइएफआरसी आपत्कालीन अपिल

काठमाडौँ : ‘जाजरकोट भूकम्प’ पीडितका लागि रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले राहत तथा प्रतिकार्यमा सहयोग गर्न आपत्कालीन अपिल जारी गरेको छ।

उसले ‘जाजरकोट भूकम्प’ पीडितका लागि स्विस फ्र्याङ्क ५० लाख बराबरको आपत्कालीन सहयोगको लागि अपिल जारी गरेको हो।

भूकम्पबाट अति प्रभावित भएका घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोगका लागि उसले अपिल जारी गरेको हो।

आइएफआरसीले विज्ञप्तिमा जाजरकोटमा भूकम्प गए लगत्तै आइएफआरसी तथा आफ्ना साझेदार एवं नेपाल रेडक्रस सहित सम्बन्धित पक्षसँग मिलेर तत्काल मानवीय सेवाका काम गरिराखेको उल्लेख गरेको छ।

रेडक्रसका दक्ष स्वयंसेवकमार्फत प्रभावितको खोजी, उद्धार तथा राहतका काम द्रुत सञ्चालनमा सहयोग गरिरहेको उल्लेख गर्दै उसले स्वास्थ्य सेवा प्राथमिक उपचार, मनोसामाजिक सहयोग, रक्त सञ्चार तथा एम्बुलेन्स सेवा, गैर खाद्य सामग्री, वितरणजस्ता तत्कालीन सहयोग उपलब्ध गराइरहेको उल्लेख गरेको छ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर कात्तिक १७ गते मध्यरात ६ दशमलव ४ म्याग्निच्युडको  भूकम्पजाँदा जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको थियो।

भूकम्पमा परेर १ सय ५० बढीले मृत्यु भएको छ भने ३० हजार घर परिवार प्रभावित भएका छन्।

कात्तिक २६, २०८० आइतबार १२:१४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।