तीन महिनामा नेपाल लाइफको नाफा १६ करोड

तीन महिनामा नेपाल लाइफको नाफा १६ करोड

काठमाडौं : जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड नाफा कमाएको छ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको नाफा १०.२५ प्रतिशतले वृद्धि भई लगभग १६ करोड पुगेको हो।

यस त्रैमासकको अन्त्य सम्ममा कम्पनीको जगेडा तथा कोषमा करिव ७९.३३ करोड रुपैयाँ रहेको छ जुन अघिल्लो आर्थिक वर्षको अन्त्य सम्मको आधारमा २१.८१ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको अन्त्य सम्ममा करिव १६५ अर्ब ५२ करोड रुपैयाँ रहेकोमा यसपटक ५.८६ प्रतिशतले बढि करिव १७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

महाबिपत्ती कोषमा १०२ करोड रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको अन्त्य सम्मको तुलनामा १.५७ प्रतिशतले बढी हो। कम्पनीको लगानी ५.३९ प्रतिशतले बढेको छ। आश्विन  मसान्तसम्म कम्पनीले १७९ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ।

प्रकाशित विवरण अनुसार कम्पनीको भुक्तानी हुन बाँकी दावी उलेख्य रूपमा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यमा करिव १ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३९.३५ प्रतिशतले घटी ८३.९१ करोड रुपैयाँ रहेको छ।

कम्पनीले असोज मसान्तसम्ममा १० अर्ब ९३ करोड कुल बीमाशुल्क आर्जन गरेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ८.७२ प्रतिशतले बढी हो।

यसैगरी असोज मसान्तसम्ममा १ अर्ब ५८ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ जुन समिक्षा अवधिको तुलनामा १३.७९ प्रतिशतले बढी हो।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.७ रुपैयाँ रहेको छ। यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.७२ रुपैयाँ, मूल्य अनुपात आम्दानी ८३.१४ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,३०७ रुपैयाँ रहेको छ।

कात्तिक २६, २०८० आइतबार ०७:४०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।