टाइगर थ्रीको महत्त्वपूर्ण प्लट बाहिरिएला भनेर डराए सलमान
काठमाडौँ : आइतबार भारतीय फिल्म टाइगर थ्री विश्वव्यापी रूपमा रिलिज हुँदैछ। सलमान खान, कटरिना कैफ अनि इमरान हासमीको अभिनय रहेको यो फिल्म हिन्दी फिल्मका दर्शकमाझ बहुप्रतिक्षित सूचीमा छ।
फिल्म रिलिज हुनु अगाडि नै भारतमा पाँच लाख टिकट अग्रिम बुकिङ भइसकेको छ। त्यसबाट १५ करोड ग्रस कलेक्सन हुनेछ।
यो फिल्मको सरप्राइज इमरान हासमी नेगेटिभ भूमिकामा हुनु हो। साहरुख खान, ऋतिक रोशन लगायतका अभिनेताहरू अतिथि भूमिकामा छन् यो फिल्ममा।
सलमानको फिल्म रिलिजहुँदा विवाद हुने गरे पनि यसपालि टाइगर थ्रीले त्यसको सामना गर्नुपरेको छैन। फिल्मले रिलिजको दिन ३० करोड हाराहारीको व्यापार गर्ने अनुमान गरिएको छ।
नेपालमा पनि सलमानका फ्यान फलोइङ बलियो छ। नेपालको हलमा समेत शनिवारबाटै अग्रिम बुकिङ खुलिसकेको छ।
शुक्रवारबाट हलमा 'दिमाग खराब' लागिरहेको छ। दिमाग खराबले मिश्रित प्रतिक्रिया पाइरहेको छ। हलमा भस्मे डन अनि परदेशी २ समेत टिकिरहेका छन्।
सलमानको फिल्म आउने मिति घोषणा भएसँगै उनका प्रशंसकहरू फिल्म कुरेर बस्छन्।
महत्त्वपूर्ण प्लट सार्वजनिक नगर्न अपिल
पछिल्लो समय सामाजिक सञ्जालहरूबाट फिल्मको महत्त्वपूर्ण अंश सार्वजनिक हुने गरेका छन्। नेपालमा पनि पछिल्लो समय टिकटक लगायतका सञ्जालबाट फिल्मको महत्वपूर्ण प्लट सार्वजनिकहुँदा निर्माण टिम पीडित हुने गरेका छन्। टाइगर थ्रीको महत्त्वपूर्ण प्लट सार्वजनिक हुने हो कि भन्नेमा सलमान आफैँ चिन्तित देखिएका छन्।
उनले ट्विट गरेर फिल्मको स्पायलर सार्वजनिक नगर्न दर्शकहरूलाई आग्रह गरेका छन्। उनले फिल्मको महत्त्वपूर्ण प्लट सार्वजनिक हुँदा फिल्म नहेरेकाहरूलाई किरकर हुनसक्ने भन्दै आफ्ना प्रशंसकहरूलाई आग्रह गरेका हुन्।
ट्विटमा टाइगर थ्री दीपावलीको उपहार हुनसक्ने भन्दै फिल्मको स्पाइलर सार्वजनिक हुनेछैन भनेर आफूले भरोसा गरेको लेखेका छन्।
कात्तिक २५, २०८० शनिबार १८:४३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।