चीन सरकारले भन्यो- अनुमतिबिना दलाई लामाका उत्तराधिकारी छान्न पाइन्न
एजेन्सी : चीन सरकारले तिब्बती आध्यात्मिक गुरु ८८ वर्षीय दलाई लामाका उत्तराधिकारी अनुमतिबिना छान्न नपाइने बताएको छ।
चीन सरकारले शनिबार श्वेतपत्र जारी गर्दै दलाई लामा र पञ्चेन लामा लगायत तिब्बतमा रहेका सबै अवतारी बुद्धका लागि चीनबाट उत्तराधिकारी खोज्नुपर्ने‚ स्वर्ण कलशबाट छानिनुपर्ने र चीन सरकारको स्वीकृति लिनुपर्ने बताएको हो।
दलाई लामाले आफ्नो उत्तराधिकारी नियुक्त गर्न नेतृत्व लिने कुरामा भने चीन चिन्तित देखिएको छ।
पन्धौँ दलाई लामा भारत र मंगोलियाबाट हुने विषयले चीन निकै चिन्तित छ। दलाई लामाका उत्तराधिकारीको तिब्बतीमा ठूलो प्रभाव छ।
चीन सरकारले ८८ वर्षीय दलाई लामाको उत्तराधिकारीलाई आफ्नो स्वीकृति आवश्यक पर्ने कुरामा जोड दिएको छ।
तिब्बतमा पञ्चेन लामा दोस्रा ठूला आध्यात्मिक नेता हुन्। हालका पञ्चेन लामालाई तिब्बतमा स्वीकार नगरेकाले चीनलाई यो चिन्ताको विषय बनेको छ।
सन् १९९५ मा चौधौँ दलाई लामाले तिब्बतका ६ वर्षीय गेदुन चोकी नीमालाई एघारौँ पञ्चेन लामा नियुक्त गरेका थिए।
यसको तीन दिनमा ती बालकको पूरै परिवार रहस्यमय तरिकाले बेपत्ता भएको थियो। उनलाई चीन सरकारले बेपत्ता पारेको भन्दै विवाद बढेको थियो।
कात्तिक २५, २०८० शनिबार १७:३६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।