भूकम्प पीडितका लागि आवास निर्माणको काम तीव्र पार्न प्रधानमन्त्री प्रचण्डलाई राज्यव्यवस्था समितिको सुझाव

भूकम्प पीडितका लागि आवास निर्माणको काम तीव्र पार्न प्रधानमन्त्री प्रचण्डलाई राज्यव्यवस्था समितिको सुझाव

काठमाडौं : प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटकाे रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पका पीडितहरुको लागि आवासको काम तीव्र पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएको छ। 

शनिबार प्रधानमन्त्री कार्यालयमा भूकम्पपछि सरकारले खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले खेलेको भुमिकाप्रति धन्यावाद दिँदै समितिले राहत र पुनर्निर्माण प्रभावकारी बनाउन सुझाव दिएको हो। 

भेटमा समितिका सभापति रामहरि खतिवडाले भने, ‘हामी प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गर्यौं। उद्दार र उपचारमा प्रधानमन्त्री स्वयं फिल्डमा पुगेर जसरी नेतृत्व गर्नुभयो, त्यसको सबैले प्रशंसा गरेका छन्। १३ घण्टाभित्र उद्दारको काम सक्नुमा प्रधानमन्त्रीको सक्रियताले नै काम गरेको हामीले पायौं। यसका लागि समितिको तर्फबाट सरकारलाई विशेष धन्यवाद छ। अब सरकारले राहत र पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ भन्ने हाम्रो सुझाव छ।’

त्यसैगरि, एमाले सांसद कृष्णगोपाल श्रेष्ठले भूकम्प प्रभावित क्षेत्रमा प्रचारका भोकाहरू पनि देखिएको बताउँदै प्रधानमन्त्रीले गरेको कामको प्रशंसा गरे। 

भेटमा समितिका सदस्यहरूले अस्थायी आवासको काम हिउँदअघि नै सक्न, मृतक परिवारलाई आर्थिक राहत उपलब्ध गराउन, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्न सुझाव दिएका थिए। 

समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले संसदहरूबाट प्राप्त सुझावहरू कार्यान्वयनमा लैजाने बताए। 

कात्तिक २५, २०८० शनिबार १७:२०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।