नयाँ स्टक खोल्ने बाटो खुल्यो, तीन व्यवसायिक समूहविच प्रतिष्पर्धा

नयाँ स्टक खोल्ने बाटो खुल्यो, तीन व्यवसायिक समूहविच प्रतिष्पर्धा

काठमाडौं : नयाँ स्टक एक्सचेञ्जबारे अदालतबाट अन्तिम निर्क्योल भइसकेको विषयमा निर्देशन कायम राख्न आवश्यक नभएको अर्थ समितिले निर्णय गरेको छ।

समितीले यस अगाडि निजी क्षेत्रबाट नयाँ स्टक एक्सचेन्ज खोल्ने प्रक्रिया अगाडि नबढाउन  अर्थ मन्त्रालय, नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो।

शुक्रबार बसेको समितीले २०८० जेठ १९ गते दिएको निर्देशनको औचित्य सकिएको निर्णय गरेर नयाँ स्टक एक्सचेन्जलाई अनुमती दिने कानुनी बाटो खुलाएको हो।

नयाँ स्टकबारे सर्वोच्च अदालतमा परेको रिट खारेज भइसकेको छ। निर्णयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले भने फरक मत राखे।

उनको लिखित फरक मतमा सहजीकरणका लागि धितोपत्र बोर्डले पठाएको पत्र समितीको बैठकमा पेश नगरी, हतारमा तिहारको अधिल्लो दिन निर्णय भएको उल्लेख छ।साझ, संगठित रूपमा हठात खोटपूर्ण निर्णय भएको उनले लेखेका छन्।

नयाँ स्टकको विवाद के हो?

धितोपत्र बोर्डले निजी क्षेत्रको लगानीमा नयाँ स्टक खोल्न आवेदन माग गरेपछि तीन आवेदन परेको थियो।

हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडले अनुमती पाउन आवेदन दिएका थिए। नयाँ स्टकको अनुमती दिन चलखेल भएको भन्दै केही ब्यक्ती प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकोमा पुगेपछि उनले मौखिक निर्देशनमा अनुमती प्रक्रिया रोकेका थिए।

प्रारम्भमा हिमालयनले तयारी गरेको थियो। हिमालयनमा शेयर नपाएको समूह नेशनलतिर लागेको थियो। रातारात तेस्रो कम्पनी अन्नपूर्ण समेत जन्माइयो।

हिमालयन स्टक एक्सचेन्जमा ब्यापारिक घरानाका लगानीकर्ताको बाहुल्यता छ। यसमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, लक्की ग्रुपका सतीशलाल मोर, दुगड ग्रुपका विवेक दुगड, ज्योति समूहका सौरभ ज्योति, शंकर ग्रुपका अध्यक्ष, शंकरलाल अग्रवाल, महासंघका पूर्वअध्यक्षद्वय पशुपति मुरारका र भवानी राणा, व्यवसायी राजेन्द्र खेतान, रोहित गुप्ता, आशिष श्रेष्ठ र जुनी गुरुङ र दीपक भट्टको  लगानी छ।

यसको अध्यक्षमा पूर्व प्रहरी महानिरिक्षक प्रकाश अर्यालको नाम रहेको स्रोतको दाबी छ।

हिमालयन स्टकमा सेयर नपाएको समूह मिलेर नेसनल स्टक एक्सचेन्ज दर्ता गरेर आवेदन दिए। यसमा गैर आवासीय ब्यवसायीको बाहुल्यता छ।

यसमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, डा बद्री केसी र कुल आचार्य, महासचिव गौरी जोशी र दीपक तिमिल्सिनाको लगानी छ। सिद्धार्थ ग्रुप, अग्नि ग्रुप र रिलायन्स ग्रुपले समेत यसमा लगानी गरेका छन्।

अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडमा अन्य ब्यवसायी छन्। यसमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती र हेलिकप्टर र मिडियाका लगानीकर्ता रामेश्वर थापा समेत छन्।

 

कात्तिक २५, २०८० शनिबार १६:३५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।