विश्वकप क्रिकेट : बंगलादेशले अष्ट्रेलियालाई दियो ३ सय ७ रनको लक्ष्य, पाकिस्तानविरुद्ध ब्याटिङमा इंग्ल्याण्ड
काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अष्ट्रेलियालाई ३ सय ७ रनको लक्ष्य दिएको छ।
पुनेमा टस हारेर पहिले ब्याटिङको गरेकोे बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन बनायो।
उसका लागि ताहिद ह्रोदीले सर्वाधिक ७४ तथा नजमुल होसाइन शान्तोले ४५ रन बनायाे ।
बलिङतर्फ अष्ट्रेलियाका सीन अबोट र एडम जाम्पाले २/२ विकेट लिए। यसअघि नै सेमिफाइनलमा पुगिसकेको अष्ट्रेलियाले दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएको छ।
बंगलादेशका लागि सन् २०२५ को च्याम्पियन्स ट्रफीमा छनौट हुन यो खेलमा जित आवश्यक छ।
आजै भइरहेको अर्को खेलमा पाकिस्तानसँग इंग्ल्याण्डले पहिले ब्याटिङ गरिरहेको छ। कोलकातामा इंग्ल्याण्डले टस जितेर ब्याटिङ गरिरहेको हो। यो समाचार तयार पार्दासम्म २६ ओभरको खेल सकिँदा इंग्ल्याण्डले २ विकेट गुमाएर १४६ रन बनाएको छ।
पाकिस्तानलाई सेमिफाइनलमा पुग्न ठूलो अन्तरको जित आवश्यक छ। विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा भोलि घरेलु टोली भारत र नेदरल्यान्डस् खेल्नेछन् ।
कात्तिक २५, २०८० शनिबार १६:१७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।