तीन महिनामा २० करोडले घट्यो नेपाल टेलिकमको नाफा

तीन महिनामा २० करोडले घट्यो नेपाल टेलिकमको नाफा

काठमाडौं : सरकारी दूरसञ्चार टेलिकम कम्पनी नेपाल टेलिकमको नाफा करिब २० करोडले घटेको छ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको वित्तीय विवरणमा यस्तो उल्लेख गरिएको हो।

कम्पनीको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिसम्मको खुद मुनाफा २ अर्ब २ करोड ७४ लाख ३२ हजार छ।

यो रकम गत आर्थिक वर्षका सोही अवधिको तुलनामा १९ करोड ८० हजार ७४ हजार रुपैयाँले कमी हो।

गतवर्ष कम्पनीको खुद मुनाफा २ अर्ब २२ करोड ५५ लाख ६ हजार रुपैयाँ थियो।

कम्पनीको कुल आम्दानीमा पनि गतवर्षको भन्दा कमी आएको छ।

गतवर्ष ११ अर्ब ४ करोड ९० हजारको कुल आम्दानी गरेको कम्पनीले यस वर्ष १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँ कुल आम्दानी गरेको हो।

यो गतवर्षको भन्दा ३९ करोड १२ लाख ९७ हजार रुपैयाँले कम हो।

कुल आयमध्ये चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा कम्पनीको कुल सञ्चालन आय पनि घटेको छ।

गतवर्षको सुरुवाती तीन महिनामा ९ अर्ब ७ करोड ७५ हजार सञ्चालन आय गरेको कम्पनीले यस वर्षको सुरुवाती तीन महिनामा ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार सञ्चालन आय गरेको छ।

यो गतवर्षको भन्दा ४९ करोड २५ लाख २१ हजार रुपैयाँले कमी हो।

ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको तुलनामा करिब ४९ करोड १४ लाख ८५ हजार रुपैयाँले कमी आएको जनाएको छ।

आर्थिक मन्दी, विदेशी विनिमय दरमा भएको परिवर्तन, प्रतिकुल मौसमका कारण विद्युत आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसक्दा आय घटेको उल्लेख गरेको छ।

बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको, सेवा दररेटमा कटौती भएको र बैंकको व्याजदरमा भएको परिवर्तनका कारणले आय घटेको कम्पनीको दाबी छ।

कात्तिक २५, २०८० शनिबार १२:२४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।