राजाको छोरालाई गम्भीर स्वास्थ्य समस्या छ : रविन्द्र मिश्र

राजाको छोरालाई गम्भीर स्वास्थ्य समस्या छ : रविन्द्र मिश्र

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रविन्द्र मिश्रले पूर्वयुवराज पारस शाहलाई गम्भीर स्वास्थ्य समस्या भएको बताएका छन्।

शनिबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मिश्रले पारसलाई गम्भीर स्वास्थ्य समस्या देखिएको र उनले देशको राजकाज सम्हाल्न नसक्ने बताए।

‘छोरो सम्हाल्न नसक्न्नेले देश कसरी सम्हाल्छ भन्ने कुरा पनि उठिरहेको छ नि?’ भन्ने सञ्चारकमीको प्रश्नको जवाफमा मिश्रले पारसमा देखिएको स्वास्थ्य समस्याको बारेमा अरुले होच्याउन आवश्यक नभएको समेत टिप्पणी गरे।

उनले भने, ‘राजाको छोरालाई जे भएको छ, त्यो गम्भीर स्वास्थ्य समस्या हो, त्यस्तो गम्भीर स्वास्थ्य समस्या तपाईंको परिवारमा पनि पर्नसक्छ, मेरो परिवारमा पनि पर्नसक्छ, जसले यो भनिरहेका छन् उनीहरूको परिवारमा पनि पर्नसक्छ। यो हियाउने विषय हो र?’

स्नेहपूर्वक उपचार गर्नुपर्ने विषयलाई हियाउन नहुने भन्दै उनले गम्भीर स्वास्थ्य समस्या भएको मानिस जिम्मेवार पदमा बस्न नसक्ने स्पष्ट पारे।

‘गम्भीर स्वास्थ्य समस्या भएको मानिस जिम्मेवार पदमा बस्न सक्दैन,’ उनले थपे, ‘नेपालमा राजसंस्था पुनर्स्थापित हुँदा सिधै एउटा पुस्ता छलेर नाति पुस्तामा जान्छ।’

कात्तिक २५, २०८० शनिबार १०:०३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।