रत्नपार्कमा २०औं काग सम्मेलन सम्पन्न

रत्नपार्कमा २०औं काग सम्मेलन सम्पन्न
तस्बिर- गोपिकृष्ण चापागाइँ/आर्टिस्टखबर

काठमाडौं : आज काग तिहार। कागको आवाज निकालेर कागको सम्मेलन गर्दै आएका रमेश दुलालले यसपटक २०औं काग सम्मेलन काठमाडौंको रत्नपार्कमा सम्पन्न गरेका छन्।

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाइएको हो। यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा चिजबिज खान दिएर तिहारको पहिलो दिन काग तिहार मनाईएको छ। काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक शुरू भएको छ।

आजदेखि भाइटीकासम्म नेपालीले दशैँपछिको दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन्। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।

कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा–मीठा खान दिई खुशी पार्ने गरिएको पनि उनले थपे। लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ।

काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ। “काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससँग पनि तिहार पर्व गाँसिएको छ। यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा आज साँझ यमदीप दान गर्ने प्रचलन छ।

बिहान पहिलो प्रहरमै कागलाई मीठा-मीठा चिजबिज खान दिएर सम्मान गरिन्छ। यसैगरी आजै आयुर्वेदका प्रवर्तक धन्वन्तरिको जन्मजयन्ती पनि मनाइँदैछ।

देवता र दानवबीच समुद्र मन्थन हुँदा कात्तिक कृष्ण त्रयोदशीकै दिन अमृत घडासहित धन्वन्तरि पृथ्वीमा अवतरण भएको पौराणिक मान्यता छ।

कात्तिक २५, २०८० शनिबार ०७:५६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।