विश्वकप क्रिकेटबाट अफगानिस्तान बाहिरियो
काठमाडौं : भारतमा जारी एकदिवसीय विश्वकपको राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।
२ सय ४५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १५ बल बाँकी रहँदा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
रस्सी भान डेर डुसेन ९५ बलमा ६ चौका र १ छक्का सहित ७६ रनमा अविजित रहे। एन्डिले फेहलुकवायोले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३९ रनमा नटआउट रहे।
ओपनर क्विन्टन डी ककले दक्षिण अफ्रिकालाई राम्रो सुरुवात दिँदै ४७ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए। अर्का ओपनर तथा कप्तान टेम्बा बाभुमाले आफ्नो इनिङ्समा ३ चौकासहित २८ बलमा २३ रन बनाए।
एडेन मार्क्रमले २५ रनको योगदान दिए भने हेनरिक क्लासनले १० रन बनाए । डेभिड मिलरले राम्रो सुरूवात गर्दै २४ रन बनाए।
अफगानिस्तानका लागि रसिद खान र मोहम्मद नाबीले समान २ र मुजिब उर रहमानले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो।
अफगानिस्तानका लागि ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले आक्रामक सुरूवात गरेका थिए। महाराजले आफ्नो पहिलो बलमा नै गुरबाजलाई २५ रनमा क्याच आउट गराए।
कोटजीले अर्को ओभरमा इब्राहिमलाई पभिलियन फर्काएपछि र महाराजले कप्तान हस्मातुल्लाह शाहिदीलाई २ रनमा क्याच गराएपछि अफगानिस्तान ४१-० बाट ४५-३ को स्तिथिमा पुग्यो।
रहमत शाहले अजमातुल्लाहसँग ४९ रनको साझेदारीमा पुन: निर्माण गर्ने प्रयास गरे तर २६ रनमा फास्ट बलर लुंगी एनगिडीको बलमा आउट भए।
अफगानिस्तानलेलाई खतराबाट पार लगाउन अजमातुल्लाहले दृढ इनिङ्स खेले। उनले रशिद खान (१४) र त्यसपछि नूर अहमद (२६) को साथमा विपक्षी बलिङलाई विफल पार्न महत्वपूर्ण भूमिका खेले।
२३ वर्षीय अजमातुल्लाहले एकदिवसीयमा आफ्नो सबैभन्दा उत्कृष्ट इनिङ्ग खेले तर अन्तिम ओभरमा मात्र एक रन बनाउन सकेपछि शतक बनाउनबाट चुक्दै ९७ रन बनाए।
दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजीले ४ विकेट लिए। लुंगी एनगिडी र केशव महाराजले समान २ एन्डिले फेहलुकवायोले एक विकेट लिए।
यसअघि नै विश्वकपको सेमिफाइनल पुगिसकेको दक्षिण अफ्रिकाले राउण्ड रोबिन चरणमा ९ खेलबाट ७ जितसहित १४ अंक बनाएको छ। अफगानिस्तानले ९ मध्य तीन खेल जित्न सफल भयो।
कात्तिक २५, २०८० शनिबार ०७:३८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।