धम्क्याउँदै शृंखलाबद्ध लुटपाट गर्ने लुटेरा समूह हतियारसहित पक्राउ

धम्क्याउँदै शृंखलाबद्ध लुटपाट गर्ने लुटेरा समूह हतियारसहित पक्राउ
फाईल फोटो

विराटनगर : मोरङका विभिन्न स्थानमा हतियार देखाएर धम्क्याउँदै शृंखलाबद्ध लुटपाट गर्ने घटनामा संलग्न समूहलाई प्रहरीले पक्राउ गरेको छ।

गत भदौ महिनामा मोरङको विभिन्न स्थानमा भएका धनमाल लुटका घटनामा संलग्न समूहका ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पेस्तोल, रड, लाठी लगायतका हतियार देखाई कुटपिट गर्ने काममा उनीहरु सक्रिय रहेको प्रहरीको भनाइ छ । शृंखलाबद्ध लुटका घटना बढेपछि प्रहरीले ‘अपरेसन सिएरा ब्राभो कन्ट’ अभियान चलाएको थियो ।

उक्त अभियानका क्रममा लुटपाटमा संलग्न समूहका सातजनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए ।
 
पक्राउ पर्नेमा ४० वर्षीय रिजवान मियाँ, २४ वर्षीय नजरुल मियाँ, ३१ वर्षीय मोहम्मद अलि, मुरताजा मियाँ, ३० वर्षीय नजरूल मियाँ र ४० वर्षीय मोहम्मद आलम छन् ।

उनीहरुले प्रयोग गरेको मोबाइलको ‘लक’ खोलेर आपराधिक काममा सहयोग गर्ने मोबाइल पसल सञ्चालक ३० वर्षीय सिजाम आलमलाई १ लाख रुपैयाँ धरौटीमा छाडिएको छ ।

उनीहरुको साथबाट कटुवा पेस्तोल, प्रहरीबाट केही समयअघि लुटिएको चिनियाँ पेस्तोल, मोबाइल फोन १६ वटा, मेमोरी कार्ड १२ बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी उक्त समूहको साथबाट प्रहरीले १ लाख ७५ हजार २ सय ७५ रुपैयाँ र ११ हजार ६ सय भारतीय रुपैयाँका साथै दुईवटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

डाँका चोरी र संगठित अपराधअन्तर्गत अनुसन्धान गरी उनीहरुमाथि मुद्दा चलाइएको छ।

कात्तिक २४, २०८० शुक्रबार १३:४४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।