मुगु सामूहिक हत्या घटनामा एकजना पक्राउ, आज सार्वजनिक गरिँदै

मुगु सामूहिक हत्या घटनामा एकजना पक्राउ, आज सार्वजनिक गरिँदै

काठमाडौं : मुगुको छायाँनाथ रारा नगरपालिकामा भएको आमासहित दुई छोरा र एक छोरीको सामूहिक हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेका ती व्यक्तिको बारेमा केही खुलाएको छैन। 

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनी मृतक परिवारका आफन्त रहेको बुझिएको छ। प्रहरीले शुक्रबार उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ।

सो घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोली आइतबार मुगु पठाइएको थियो। 

कात्तिक ८ गते राति २८ वर्षीया आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोराको घरभित्रै सामूहिक हत्या भएको थियो।

कात्तिक १० गते बिहान घटना थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।

कात्तिक २४, २०८० शुक्रबार ०८:०३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।