दिमाग खराब हेर्न आएका बालेन बोल्दै नबोली हिँडे, हलभरि रास्वपाका नेताको भिड
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नमस्कार गरेको तर फिल्म निर्देशक निश्चल बस्नेतले नमस्कार नफर्काएको क्लिप टिकटकमा भाइरल भएपछि बस्नेतले भरमार गाली खाए। बालेनका फ्यान एकोहोरो निश्चलमाथि खनिए। प्राय निश्चल यस्ता कुरामा तत्काल प्रतिक्रिया दिइहाल्दैनन्। यसमा चुप बस्न सकेनन् र बोले।
महानगरको मेयरमा प्रतिस्पर्धा गरिरहेकै समयमा निश्चल बालेनको समर्थनमा थिए। अझ स्वस्तिमा खड्काले त मौन अवधिमै सामाजिक सञ्जालबाट बालेनका लागि भोट मागेर विवादमै तानिएकी थिइन्।
यी सबै घटनाक्रमले बालेनले नमस्कार गरेको र निश्चलले नफर्काएको हुनसक्ने सम्भावना कम थियो। पछि देखियो पनि त्यहीँ। न बालेनले निश्चललाई नमस्कार गरेका थिए न त निश्चलले नै नफर्काएका थिए।
यो काण्डपछि यी दुवै एकै सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। बिहीबार यी एकै कार्यक्रममा थिए, निश्चल निर्देशित फिल्म दिमाग खराबको प्रिमियरमा।
उहीँ सिग्नेचर लुक्स, त्यही व्यवहार। आए, फिल्म हेरे अनि कुनै प्रतिक्रिया नदिई टाप कसे।
पछिल्लो समय राजनीति परिवर्तन गर्ने चस्का फिल्म निर्मातामा पनि देखिन्छ। छक्कापन्जा ४, ऐँचो पैँचो, नाङ्गो गाउँ त्यही विषयमा बनेका फिल्म थिए।
छक्कापन्जा बाहेक अन्यको प्रतिक्रिया र व्यापार ठिकठिकै भयो। छक्कापन्जा सिरिजमा दीपकराज गिरीले पहिलो पटक समीक्षकबाट सकारात्मक समीक्षा पाए यही फिल्मबाट।
दीपाश्री निरौलाले दिमाग खराब पनि राजनीतिक विषयमा बनेको फिल्म हो अनि विषय माथि उल्लेख गरिएको फिल्मकै जस्तैजस्तै भएको खुलाइहालिन् प्रिमियरमा।
दिमाग खराब राजनीतिक विषयमा बनेको फिल्म हैन भनेका थिए निश्चलले। तर प्रिमियरका अतिथिको अनुहारले नै यो फिल्म कति राजनीतिक हो भन्ने पनि देखायो नै। निर्देशक निश्चल र निर्माण टिमले प्रिमियरको अतिथिमै राजनीति खेलेको देखियो।
प्रिमियरस्थलको अतिथि देख्दा यो रास्वपाको पार्टीको कार्यक्रम हो कि फिल्मको प्रिमियर हो भनेर झुक्किन सकिने जोखिम थियो। रवि लामिछाने, सोविता गौतमसहित झन्डै दर्जनजति अतिथि त रास्वपाकै नेता देखिए। तर यी सबै फिल्म हेर्नै आएका थिए।
राप्रपाबाट ज्ञानेन्द्र शाही देखिए। बालेन त भइगए। काँग्रेस, एमाले, माओवादी केन्द्र, वा सिके राउत लगायतका पार्टीका नेता देखिएनन्।
नयाँ दलको अजेण्डा सेट गर्न फिल्मको प्रयोग भएको त हैन? अतिथिको मुहार मात्र हैन फिल्मपछि उनीहरूबाट आएको मुक्तकण्ठको प्रतिक्रियाले पनि त्यसकै सङ्केत गर्यो। क्रिकेट खेलाडीहरू पनि टन्नै देखिए हलमा।
प्रिमियरमा आएका हरिवंश आचार्यसहितका केही अतिथिले फिल्मलाई १० मा १० नम्बर दिएका थिए।
दीपकराज गिरी अलि फरक सुनिए। उनले पोलटिकल ड्रामा अनि ट्विस्टले भरिएको फिल्म भएको प्रतिक्रियादिँदै भने' राजनीति बुझ्ने अनि चासो राख्नेलाई फिल्म मन पर्छ सक्छ।'
अर्थात् गैर राजनीतिक दर्शकलाई मन नपर्न नि सक्छ। तर नेपाली समाजमा राजनीति नबुझ्ने र चासो नराख्ने को होलान् र!
कात्तिक २४, २०८० शुक्रबार ००:४०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।