हत्या आरोपमा थुनामा रहेका मधेशका निलम्बित सांसद सिंह धरौटीमा छुटे

हत्या आरोपमा थुनामा रहेका मधेशका निलम्बित सांसद सिंह धरौटीमा छुटे

काठमाडौं : हत्या अभियोगमा दुई महिनादेखि पुर्पक्षका लागि सप्तरीको राजविराज कारागारमा रहेका मधेश प्रदेशका निलम्बित सांसद अनिरुद्रप्रसाद सिंह धरौटीमा रिहा भएका छन्।

उच्च अदालत जनकपुरको राजविराज इजलासले एक लाख २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै सिंह धरौटी बुझाएर बिहिबार छुटेका हुन्।

उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र पूर्णप्रसाद राजवंशीको इजलासले आज जिल्ला अदालत सप्तरीले गत भदौं १९ मा सिंहलाई पुर्पक्षका लागि कारागार पठाउने दिएको आदेश बदर गर्दै १ लाख २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाे थियो। 

१६ वर्ष अगाडि माओवादी नेता दीपु भनिने गोविन्द चौधरीको हत्यामा संलग्न रहेको भन्दै सिंहसहितका केही व्यक्तिमाथि मुद्दा दर्ता भएको थियो।

लामो समय मुलतवीमा रहेको उक्त मुद्दामा सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले गत भदौ १९ गते सिंहलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो।

कात्तिक २३, २०८० बिहीबार २१:२९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।