भूकम्पपीडितलाई सघाउन कर्णाली पुगेर एनसेलले मन्त्रीलाई दियो ५० लाखको चेक
काठमाडौँ : भूकम्प पीडितको उद्धार, उपचार र राहतमा सघाउन एनसेल आजियाटा लिमिटेडले घोषणा गरेको ५० लाख रकमको चेक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।
एनसेलले बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सुर्खेत पुगेर ५० लाखको चेक हस्तान्तरण गरेको हो। एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर, विशा उपाध्यायले कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बिसी चेक दिएका थिए।
मन्त्री बिसीले ‘विपद्को समयमा कर्णालीलाई सम्झिएकोमा धन्यवाद दिएका थिए। सङ्कटको बेलामा एनसेलले सरकारलाई सहयोग गर्दै आएको अवगत रहेको भन्दै उनले राहत र पुनर्स्थापनामा ठुलो रकम लाग्ने भएकाले यस्तो सहयोगले सरकारलाई ठुलो अर्थ राख्ने बताएका थिए।
कर्णाली प्रदेशमा विपद् प्रतिकार्यहरूमा कसरी सहयोग पुर्याउन सक्छ भन्ने विषयमा सम्बन्धित अधिकारीहरूसँग एनसेलले छलफल जारी राखेको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी काम गर्दा स्थानीय समुदायमा पुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्नेमा विश्वास रहेको एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर, उपाध्यायले बताएका थिए।
५० लाख सहयोग हस्तान्तरण गरेसँगै भूकम्पपीडितको सहयोगमा एनसेलले गरेको सहयोग रकम झन्डै १ करोड रुपैयाँ पुगेको छ। यस अगाडि भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा लक्षित गरेर एनसेलले ४० लाखको विशेष सुविधा घोषणा गरेको थियो।
कात्तिक २३, २०८० बिहीबार २१:०२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।