प्रदेशलाई दिएको अधिकार नपाए सिंहदरबारमा धर्ना बस्ने कोशीका मुख्यमन्त्रीको चेतावनी
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानले प्रदेशलाई दिएको अधिकार नपाए सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन्।
बिहिबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तरका क्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै कार्कीले यस्तो चेतावनी दिएका हुन्।
उनले भने, ‘संविधानले दिएको प्रदेशको अधिकार प्रदेशमै ल्याउनका लागि सिंहदरबारमा गएर धर्ना दिन पनि सकिन्छ। र, म अधिकार छिट्टै आएन भने, उहाँहरूले तदारुकता दिनुभएन भने सिंहदरबारमा म आफैं मुख्यमन्त्रीको हिसाबले गएर धर्ना दिन्छु।’
उनले यसभन्दा अघिल्लो (शेरबहादुर देउवा नेतृत्वको) सरकार प्रदेशलाई र स्थानीय तहलाई अधिकार दिने भन्दा सरकार जोगाउन मात्र केन्द्रित भएको बताए।
अहिलेको सरकारले पनि प्रदेश र स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्न ढिलो गरिरहेको उनको भनाई थियो।
कात्तिक २३, २०८० बिहीबार १८:३३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।