इन्धनबाट उठाइएको प्रतिलिटर पाँच रुपैयाँ बुढीगण्डकी जलविद्युत्लाई छुट्याउने सरकारको निर्णय

इन्धनबाट उठाइएको प्रतिलिटर पाँच रुपैयाँ बुढीगण्डकी जलविद्युत्लाई छुट्याउने सरकारको निर्णय

काठमाडौं : सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई इन्धनबाट लिइँदै आएको पूर्वाधार शुल्कबाट पाँच रुपैयाँ उपलब्ध गराउने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये प्रतिलिटर पाँच रुपैयाँ बुढीगण्डकी जलविद्युत् आयोजनालाई उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसको जानकारी दिएकी हुन्।

उनले भनिन्, ‘यसबाट बुढीगण्डकीको कामहरू तदारुकताका साथ अगाडि बढ्नेछ।’

बुढीगण्डकी जलविद्युत् आयोजना सरकारले आफ्नै लगानीमा निर्माण गर्दैछ। यसअघि पनि यसै परियोजनाका लागि भन्दै सरकारले इन्धनबाट अर्बौं रूपैयाँ जम्मा गरिसकेको छ।

यस्तै, सरकारले नेपाल विद्युत् प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन अघि बढाउने निर्णय गरेको छ। अध्ययनपछि निर्माण कार्य अघि बढ्ने सञ्चारमन्त्री शर्माले बताइन्।

त्यसैगरी, प्रधानमन्त्री कार्यालयको विधेयक समितिमा गएको ‘सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८०’ स्वीकृत गर्ने निर्णय पनि बिहीबारको मन्त्रिपरिषद्ले गरेको छ।

कात्तिक २३, २०८० बिहीबार १३:५८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।