सरकारले तीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने
काठमाडौं : सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण अघि बढाउने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनमा भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण कार्य अघि बढाउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को निर्णयले क्रिकेटको विकासमा र समग्र देशको विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
‘अहिले क्रिकेटका खेलाडीहरूले जुन राम्रो प्रदर्शन गर्नुभएको छ, त्यसको विषयमा पनि गम्भीरतापूर्वक छलफल भयो,’ उनले भनिन्, ‘र यी तीनवटा रंगशालाहरूलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने भन्ने निर्णय भएको छ।’
यसअघि चितवनमा भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र परेको थियो। केही दिनअघि मात्र प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच त्यसको ७० र ३० प्रतिशत लगानीमा सम्पन्न गर्ने सम्झौता भएको थियो।
तल्लो मुलपानी क्रिकेट रंगशालामा यसपाली जम्मा १५ करोड रुपैयाँको बजेट विनियोजन भएको थियो। सोहीअनुसार अहिले केही प्याराफिट निर्माणको काम भइरहेको छ।
कात्तिक २३, २०८० बिहीबार १३:३७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।