आईसीसी विश्वकप क्रिकेटमा आज न्यूजिल्यान्ड र श्रीलंका भिड्दै, न्यूजिल्यान्डलाई जित्नैपर्ने दवाव

आईसीसी विश्वकप क्रिकेटमा आज न्यूजिल्यान्ड र श्रीलंका भिड्दै, न्यूजिल्यान्डलाई जित्नैपर्ने दवाव

एजेन्सी : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा न्यूजिल्यान्डले समूह चरणको आफ्नो अन्तिम खेल श्रीलंकासँग खेल्दैछ।

खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे बेंगलोरमा सुरू हुनेछ। सेमिफाइनलमा पुग्न न्यूजिल्यान्ड यो खेल जित्नैपर्ने दवावमा हुँदा श्रीलंका भने सेमिफाइनलको दौडबाट बाहिरिसकेका छ।

न्यूजिल्यान्ड ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ। श्रीलंका ८ खेलमा २ मा जित र ६ मा हारसहित ४ अंकका साथ नवौं स्थानमा छ।

न्यूजिल्यान्ड यस खेलमा विजयी भएर मात्रै सेमिफाइनलमा पुग्न सक्दैन। सेमिफाइनलमा पुग्न अफगानिस्तान र पाकिस्तानसँगको नेट रनरेटमा पनि भर पर्नुपर्ने हुन्छ।

पाकिस्तान र अफगानिस्तान दुवैले समान एक खेल खेल्न बाँकी हुँदा ८–८ अंक छ। न्यूजिल्यान्डको नेट रनरेट ०.३९८, पाकिस्तानको ०.०३६ र अफगानिस्तानको माइनस ०.३३८ छ।

पाकिस्तानले इंग्ल्यान्ड र अफगानिस्तानले दक्षिण अफ्रिकासँग अन्तिम खेल खेल्न बाँकी छ।

अन्तिम खेलमा अफगानिस्तान र पाकिस्तान पराजित भएमा न्युजिल्यान्डलाई आजको खेलमा जित मात्रै पर्याप्त हुनेछ। तर, यी दुई टोली मध्य एक वा दुवै विजयी भएको खण्डमा भने नेट रनरेट निर्णायक बन्नेछ।

अन्तिम चारमा रहने टोलीले सेमिफाइनलमा भारतसँग खेल्नेछ। दक्षिण अफ्रिका र अष्ट्रेलियाले दोस्रो सेमिफाइनल खेल्ने पक्का भएको छ।

कात्तिक २३, २०८० बिहीबार १०:४९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।