विश्वकप गुमे पनि इंग्ल्याण्डको च्याम्पियन्स लिगको सम्भावना कायमै

विश्वकप गुमे पनि इंग्ल्याण्डको च्याम्पियन्स लिगको सम्भावना कायमै

काठमाडौं : इंग्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकप २०२३ मा नेदरल्यान्ड्समाथि १ सय ६० रनको फराकिलो जित हात पार्दै २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढाएको छ।

यो हारसँगै नेदरल्यान्ड्सको विश्वकपमा सेमिफाइनल खेल्ने सम्भावना समाप्त भएको छ।

जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ३७.२ ओभरमा १ सय ७९ रनमा अल आउट भयो।

नेदरल्यान्ड्सका तेजा निडामानुरुले ३४ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए।

ओपनर वेस्ली ब्यारेसी ६२ बलमा ३ चौका र १ छक्कासहित ३७, म्याक्स ओडाउड ५, कोलिन एकरम्यान शून्य, बास डि लिड १०, स्कट एडवार्ड्स ३८ र साइब्रांड एंगेलब्रेक्ट ३३ रनमा आउट भए।

इंग्ल्यान्डका आदिल राशिदले ८ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए। मोईन अलीले ८.२ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए। डेविड विल्लीले दुई र क्रिस वोक्सले एक विकेट लिए।

त्यसअघि पुणेमा टस जितेर पहिला ब्याटिङको रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो।

इंग्ल्यान्डको जितमा बेन स्टोक्सले ८४ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक १ सय ८ रनको शतकीय इनिङ खेले।

सातौं विकेटका लागि स्टोक्स र क्रिस वोक्सले ८१ बलमा १ सय २९ रनको शतकीय साझेदारी गरेका थिए। वोक्स ४५ बलमा ५ चौका र १ छक्कासहित ५१ रनमा आउट भए।

ओपनर डेविड मलान ७४ बलमा १० चौका र २ छक्कासहित ८७ रनमा रन आउट भए। ओपनर जोनी बेयरस्टो १५, जो रुट २८, ह्यारी ब्रुक ११, जस बटलर ५ र मोईन अली ४ रनमा आउट भए।

नेदरल्यान्ड्सका बास डि लिडले १० ओभरमा ७४ रन खर्चेर ३ विकेट लिए। अर्यान दत्तले १० ओभरमा ६७ रन खर्चेर २ विकेट लिए।

लोगन भान बिकले १० ओभरमा ८८ रन खर्चेर २ विकेट लिए । पल भान मार्केनले एक विकेट लिए।

इंग्ल्यान्ड ८ खेलमा २ मा जित र ६ मा हारसहित सातौं स्थानमा छ। बंगलादेश ८ खेलमा ४ अंकका साथ आठौं स्थानमा छ। श्रीलंका र नेदरल्यान्ड्स पनि ४-४ अंक भएपनि नवौं र पुछारमा छन्।

सन् २०२५ मा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी यस विश्वकपका पाकिस्तान बाहेक शीर्ष ७ टोलीले खेल्न पाउनेछन्।

अब इंग्ल्यान्ड, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स मध्य दुई टोलीले खेल्न पाउनेछन्।

सबै टोलीले समान एक खेल खेल्न बाँकी छ। यो जितले इंग्ल्यान्डको नेटरनरेटमा सुधार भएको हुँदा सम्भावना बढेको हो।

कात्तिक २३, २०८० बिहीबार ०७:३२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।