'हितैको माया' पछि दिमाग खराबको 'हजुरी' गीत सार्वजनिक, दुवै विरह रसमा आधारित

'हितैको माया' पछि दिमाग खराबको 'हजुरी' गीत सार्वजनिक, दुवै विरह रसमा आधारित

काठमाडौँ : फिल्म 'दिमाग खराब' टिमले बुधवार 'हजुरी' बोलको गीत सार्वजनिक गरेको छ। शुक्रवारबाट रिलिज हुने फिल्मको प्रमोसनका लागि निर्माण टिमले

अभिनेता खगेन्द्र लामिछाने, दयाहाङ राई अनि स्वस्तिमा खड्काको अभिनय रहेको गीतको भिडियो सार्वजनिक गरेका हुन्।

जयन जे वाइवाको शब्द, रचना तथा सङ्गीतमा तयार गीत मिठो सुनिएको छ। तर यस अगाडिको 'हितैको माया' जत्तिको दर्शकले रुचाएको देखिएन। ओएसआरबाट बुधवार गीत सार्वजनिक भएको नौ घण्टामा जम्मा ३९ हजार पटक मात्र हेरिएको छ। हितैको माया १३ दिनमा ६ लाख १२ हजार पटक हेरिएको छ।

गीतमा दयाहाङ, खगेन्द्र अनि स्वस्तिमा तीन जनाको अभिनय प्राकृतिक देखिएको छ। जयन जे वाइबाको स्वर र गीतको दुखान्त भावबिच मेल भएको देखिन्छ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सले बनाएको निर्माण गरेको फिल्म निश्चल बस्नेतले निर्देशन गरेका हुन्। यसमा दयाहाङ,खगेन्द्र, स्वस्तिमासँगै अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ लगायतको अभिनय छ।

 फिल्म आकाश बरालले लेखेका हुन्। 'भष्मे डन'को स्क्रिप्ट डक्टर मनोज पण्डित यो फिल्मको पनि स्क्रिप्ट डक्टर हुन्।

कात्तिक २३, २०८० बिहीबार ००:२४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।