चार सय भूकम्पपीडितलाई एनआरएनएद्धारा एक करोड बराबरको राहत सामग्री वितरण

चार सय भूकम्पपीडितलाई एनआरएनएद्धारा एक करोड बराबरको राहत सामग्री वितरण

जाजरकोट : गैरआवासीय नेपाली संघ (एनआरएनए) बद्री केसी समूहले जाजरकोट र रुकुमपश्चिमका चार सय जना भूकम्प पीडितलाई एक करोड बराबरको राहत सामग्री वितरण गरेको छ।

एनआरएनएले जाजरकोटको भेरी नगरपालिका–१ बाहुनथानका दुई सय जना र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका दुई सय जना भूकम्प पीडितलाई मंगलबार राहत हस्तान्तरण गरेको हो।

प्रति घरपरिवार ५० किलोको एक प्याक चामल, पाँच लिटर तेल, पाँच किलो दाल, दुई किलो नुन, चप्पल, न्यानो लूगासहित ११ प्रकारका सामग्री वितरण गरिएको संघका अध्यक्ष डा. बद्री केसीले बताए। 

अध्यक्ष डा. केसीको नेतृत्वमा उपाध्यक्ष रोजिना प्रधान राई, सचिव मनोज श्रेष्ठसहितका पदाधिकारी जाजरकोटमा र महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ् लगायतको टोलीले रुकुम पश्चिममा राहत वितरण गरेको उनले बताए।

जिल्लाको विपद् व्यवस्थापन समिति र जिल्लास्थित सक्रिय राजनीतिक दलको सर्वदलीय बैठकले बाहुनथानमा राहत वितरण गर्ने निर्णय गरेको थियो। 

सोही अनुसार राहत वितरण गरिएको एनआरएनएका सचिव एवं राहत व्यवस्थापन समितिका संयोजक मनोज गोर्खालीले जानकारी दिए।

विभिन्न बाध्यता र परिस्थितिले गर्दा विदेशमा भएपनि त्यहाँ रहेका नेपालीहरुले गास कटाएर यो विपद्मा सहयोग गरिदिएएको एनआरएनका अध्यक्ष डा. बद्री केसीले बताए।

‘हामी विदेशमा भएपनि नेपाल र नेपालीप्रतिको मायाँ धेरै छ। यहाँ आपत विपद् हुँदा हाम्रो मन रुन्छ,’ अध्यक्ष केसीले भने, ‘एनआरएनमा आवद्ध साथीहरुले थोरै–थोरै उठाएर दिएको रकमले सहयोग गरेका छौं।’

कात्तिक २२, २०८० बुधबार १८:२३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।