फिल्म ‘दिमाग खराब’ हिट वा फ्लप के हुनसक्छ ? यस्ता छन् पाँच-पाँच कारण

फिल्म ‘दिमाग खराब’ हिट वा फ्लप के हुनसक्छ ? यस्ता छन् पाँच-पाँच कारण

काठमाडौँ : निर्देशनमा ६ वर्षको विश्रामपछि निश्चल बस्नेतले निर्देशन गरेको फिल्म ‘दिमाग खराब’ शुक्रवारबाट रिलिज हुँदैछ। दुई हप्ता भयो हलमा नेपाली फिल्म नलागेको। यहीबिचमा निश्चलको कमब्याक भएको फिल्म शुक्रवार रिलिज हुन लागेको छ।

दर्शकलाई हलसम्म तान्न निर्माण टिम प्रचारात्मक दौडधुपमा व्यस्त छन्। प्रचारमा सबैभन्दा व्यस्त देखिएका छन् निर्देशक बस्नेत अनि उनकी श्रीमती तथा अभिनेत्री स्वस्तिमा खड्का। फिल्मले ओपनिङको दिन एभरेज शो पाएको छ।

स्वस्तिमासँगै खगेन्द्र लामिछाने अनि दयाहाङ राई लगायतको अभिनय रहेको यो फिल्म हिट होला या फ्लप? कलाकारको क्रेज, ट्रेलरको प्रभाव, फिल्मको प्रचार शैली र दर्शकमा जगाएको चासोको मापन र हलहरूले दिएको शोज्हरुको सङ्ख्याको आधारमा कमजोरी र सबल पक्षको आधारमा उकेराले पूर्वानुमान गरेको छ।

पहिला यसको सकारात्मक पक्ष उल्लेख गरौँ।

हिट हुनसक्ने पाँच कारण

१- दयाहाङ राई पछिल्लो समय हिट मेसिन कलाकार बनेका छन्। उनको अभिनय रहेको मध्यमस्तरको फिल्मलाई समेत दर्शकले रुचाएका छन्। कबड्डी चार होस् या जारी दुवै फिल्मको गुणस्तरको आधारमा मध्यम फिल्म भए पनि दयाकै क्रेजले हिट लिस्टमा चढ्न सफल भयो। दिमाग खराबमा समेत उनी मुख्य पात्रको रूपमा देखिएका छन्। जारी हेरेका दर्शकले दयाहाङको अभिनयका लागि दिमाग खराब हेर्न हलसम्म आउन सक्छन्।

२- निश्चल बस्नेतले ६ वर्षको विश्रामपछि बनाएको फिल्म हो यो। उनका तीन फिल्ममध्ये लुटको रेकर्ड लुट-२ र टलकजंग भर्सेस् टुल्केले तोड्न सकेन। यो बीचमा निर्देशन छाडेर उनी अभिनयमा सक्रिय रहे। स्वस्तिमासँगका म्युजिक भिडियोमा जमे पनि। उनको निर्देशनको प्रशंसक बाक्लै छन्। ६ वर्षपछिको उनको कमब्याक सुखद बनाउन दर्शक हलसम्म जान सक्छन्।

३- निश्चलले निर्देशन गर्ने फिल्मको फ्लेवरभन्दा ‘दिमाग खराब’ भिन्न कथामा बनेको प्रचार सामग्री, ट्रेलर अनि प्रचारकाक्रममा उनले गरेका दाबीहरूमा देखिन्छ। सामान्य विषयवस्तुलाई निकै ट्रिकी तरिकाले कथा प्रस्तुत गर्न उनी खप्पिस छन्। विषयवस्तु र उनको प्रस्तुति कला यो फिल्ममा पनि प्रस्तुत गर्न सफल भएको अवस्थामा हल पुगेका दर्शकले फिल्मको 'माउथ पब्लिसिटी' गराएर सकारात्मक माहौल बनाउन सक्ने सम्भावना देखिन्छ। खगेन्द्र र स्वस्तिमाको अभिनय सार्वजनिक भएको गीतमा झैँ अर्गानिक भए नतिजा सुखद आउन सक्छ। 

४- पछिल्लो समय प्रायः फिल्म मेकरहरु आक्रामक प्रचारसँगै फिल्म भव्य बनेको दाबीमा जोड दिन्छन्। दर्शकमाझ भव्य फिल्म भनेको प्रभाव पारेर हलसम्म आउने वातावरण बनाउँछन्। के-के न होला भनेर हलमा आइपुगेका दर्शक निराश भएर फर्कँदा आक्रामक प्रचार र नक्कली दाबीले बनाएको अधिक चासोले नै ब्याक फायर गर्ने गरेको देखिन्छ। ज्वलन्त उदाहरण भष्मे डनै हो। तर प्रचारकाक्रममा निर्देशक निश्चल निकै सम्हालिएका छन्। उनले ‘मैले निर्देशन गरेको फिल्म उत्कृष्ट बनेको छ’ भनेर दाबी गरेका छैनन्। उनले राम्रो फिल्म बनाउने प्रयास गरेको तर दर्शकले कसरी लिन्छन् त्यो रिलिजपछि मात्र थाहा हुने भन्दै सेफ साइडमा बसेका छन्।

नेपाली फिल्म क्षेत्रमा निश्चलका प्रभाव पार्न सक्ने सेलिब्रिटी शुभेच्छुकहरू टन्नै छन्। फिल्मको सकारात्मक माहौल बनाउन उनीहरूले समेत सामाजिक सञ्जालबाट साथ दिइरहेका छन्। फिल्ममा नजोडिएको तर नेपाली फिल्मका दर्शकमाझ प्रभाव पार्न सक्ने सामाजिक पहिचान बनाएकाहरूको साथले दर्शक हलसम्म आउन सक्छन्।

५- मीठो सङ्गीत र तिहारको विदाले समेत फिल्मलाई हिट लिस्टमा चढाउने सम्भावना देखिन्छ। फिल्ममा समावेश ‘हितैको माया’ बोलको गीत निकै कर्णप्रिय छ। श्रोताहरूले मन पराएका छन्। गीत मात्रै हैन गीतमा रहेको अभिनेता खगेन्द्र र स्वस्तिमाको अभिनयले समेत दर्शकको मन छोएको छ। साथै तिहारको विदाको समय पारेर रिलिज भएकाले नेपाली फिल्म हेर्न चाहने तर व्यस्तताले हेर्न हलसम्म जान नपाएका दर्शकहरू हलमा जान सक्छन्।

फ्लप हुनसक्ने पाँच कारण

१- फिल्म भष्मे डनको प्रचारमा त्यसका निर्माता खगेन्द्र लामिछानेसँगै स्वस्तिमा खड्का पनि निकै सक्रिय भइन्। अधिकांश मिडियामा विपिनसँगै स्वस्तिमा त छुट्दै छुटिनन्। निर्माण टिम अनि कलाकारले जे दाबी गरे भष्मे डन बलियो फिल्म देखिएन। यसले उनीहरूले व्यापार बढाउन ढाँटेछन् भन्ने नकारात्मक प्रभाव दर्शकमा परेको देखिन्छ। दिमाग खराबको प्रचारमा खगेन्द्र ठिकठिकै अनि स्वस्तिमा ज्यादै ब्यस्त छिन्। भष्मेको नकारात्मक प्रतिक्रियाले 'यो पनि त्यस्तै त होला' भनेर दर्शकहरू हलसम्म नआउने जोखिम देखिन्छ।

२-एकै अभिनेता वा अभिनेत्रीको फिल्म लगातार हेर्न दर्शकमा जाँगर कम हुनु स्वाभाविकै हो। दशैँ अगाडि 'भष्मे डन'मा स्वस्तिमा अनि छ्यास्स भए पनि खगेन्द्रको अभिनय हेरेका दर्शक तिहारमा पनि त्यही कलाकारको अभिनय हेर्न हलसम्म नआउन पनि सक्छन्। फिल्म निर्माण टिमले प्रचारमा दयाहाङलाई हिँडाउन सकेका छैनन्। यसको नकारात्मक प्रभाव फिल्मको व्यापारमा पर्न सक्छ।

 ३- यो फिल्म निश्चल र स्वस्तिमा हैन खगेन्द्र र स्वस्तिमा फिचर्ड छन्। तर फिल्मको प्रचार शैली हेर्ने हो भने फिल्मको अभिनेता खगेन्द्र हैनन् निश्चल हुन् जस्तै देखिन्छ। प्रचारमा पर्दाका श्रीमान्-श्रीमती खगेन्द्र र स्वस्तिमाको प्रेमकथा भन्दा निश्चल र स्वस्तिमाको प्रेम कथा र सम्बन्ध बढी हाइलाइट भएका छन्। यी युट्युबमा दर्शकले सित्तैमा हेरिसकेकाले खगेन्द्र र स्वस्तिमाको फिक्सनल प्रेमकथामा दर्शकले रुचि नदेखाउने जोखिम पनि देखिन्छ।

 ४-शुक्रवार दिमाग खराबसँगै ‘द मार्भल्स’ रिलिज हुँदैछ। मार्भल्सले नै फिल्म दिमाग खराबको केही शोहरु तानिसकेको छ। त्यसको चार दिनपछि सलमान खान अभिनीत फिल्म टाइगर-थ्री रिलिज हुँदैछ। फिल्म गतिलो बनेको रहेछ भने यो चार दिनमा दर्शकको माउथ पब्लिसिटीको आधारमा दिमाग खराबले आफ्नो गति कायमै राख्न सक्छ। निकै हाइप बनेको हिन्दी फिल्म नेपाली फिल्मको अगाडि धुलो चाटेको रेकर्ड छ नै। टाइगर फिक्का पनि हुनसक्छ। यदि  फिल्म कमजोर रहेछ भने दिमाग खराबको हलको सोहरूमा टाइगर-थ्रीले बाढी लगाइदिन सक्छ।

 ५- टिकटक, दोहोरी गीत, चर्चित टक शोज्हरुसँगै आफ्नै टिम परिचालन गरेर फिल्मले प्रचार अभियान अगाडि बढाए पनि हाइप क्रियट हुन सकेको छैन। निर्माण टिम अनि अभिनीत कलाकारको आधारमा भष्मे डनभन्दा कम देखिन्न। फिल्म रिलिज हुनुभन्दा अगाडि यो फिल्मको चासो व्यापकै थियो। कमजोर फिल्म रहेको खुलेपछि मात्र चासो घटेको हो फिल्मको।

दिमाग खराबले भष्मे टिमले भन्दा पनि अलग प्रचार संयन्त्र निर्माण गरेको छ। दर्शकमा फिल्मप्रति चासो बढाउन प्रचारात्मक समाचारको सङ्ख्या बढेका छन्। भूकम्प प्रभावितको दुखलाई वास्ता नगरे पनि क्रिकेट क्रेजलाई क्यास गर्ने भरपूर प्रयास भयो। आफ्नै प्रचार टिम बनाएर टक शो चलाए, कमेडियन प्रनेश गौतमलाई दिमाग खराब बनाउने प्रश्नहरू सोध्न लगाएर सामाजिक सञ्जालमा राखे पनि दर्शकमाझ त्यति चासो निर्माण गर्न सकेको छैन। कमजोर प्रभावसँगै फिल्म पनि कमजोरै भयो भने निर्माताको दिमाग खराब हुने जोखिम बढी देखिन्छ।

कात्तिक २२, २०८० बुधबार १५:५४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।