नेपाल र कोरियाबीचको व्यापार सन्तुलन मिलाउन लगानी साझेदारीलाई अध्यक्ष ढकालको आग्रह

नेपाल र कोरियाबीचको व्यापार सन्तुलन मिलाउन लगानी साझेदारीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानी साझेदारीका लागि आग्रह गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित नेपाल कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरियाबाट हुने आयातको तुलनामा नेपालबाट हुने निर्यात नगण्य रहेकाले व्यापार सन्तुलन मिलाउन जरुरी भइसकेको बताए।

अध्यक्ष ढकालले  ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटी  गरी मुख्य  चार क्षेत्रहरूमा लगानी साझेदारी बढाउन सकिने बताए।

यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको र यहि क्षेत्रमै कोरियाली विशेषज्ञता र लगानी विस्तार भइरहेकोले दुवै देशलाई विनविनको अवस्था सृजना हुने पनि अध्यक्ष ढकालले उल्लेख गरे।

नेपालमा ठूलो लगानीका ३ सय ५० भन्दा बढी कोरियाली उद्यमहरू भएकाले पनि नेपाल कोरियाका लागि आकर्षक लगानी गन्तव्य भइसकेको छ।

यसरी बढ्दो साझेदारीलाई थप विस्तार गरी अत्याधुनिक कोरियाली प्रविधि र  नेपालको प्राकृतिक स्रोत तथा जनशक्तिको मेल गराउने समय आएकोमा पनि अध्यक्ष ढकालले जोड दिए।

नेपालले विकासोन्मुख देशको रूपमा अर्थतन्त्रलाई विविधीकरण गर्न पनि कोरियासँगको साझेदारी महत्त्वपूर्ण रहने पनि अध्यक्ष ढकालले उल्लेख गरे।

अध्यक्ष ढकालले कोरियाली लगानी विस्तार हुँदा नेपाललाई दक्षिण एसियामा व्यापार र वाणिज्यको केन्द्र बन्न सहयोग पुग्ने पनि बताए।

केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको उल्लेख गर्दै त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउन पनि अध्यक्ष ढकालले आग्रह गरे।

ग्रिन फाइनान्समा कोरियाको अनुभव र नेतृत्वबाट नेपालले फाइदा लिनु पर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले निजी इक्विटी र नयाँ-नयाँ उद्यममा यस्तो पुँजी परिचालनमा कोरियाले सघाउनु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे।

कोरियामा धेरै नेपाली काम गर्ने भएकाले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा संयुक्त लगानीका अवसरहरूमा पनि काम गर्नु पर्ने अध्यक्ष ढकालले बताए।

त्यसका लागि कोरियाली लगानीकर्तालाई नेपाल आउन, अवसर खोज्न र लगानीको सहज वातावरण बनाउन महासंघले सहयोग गर्न तत्पर रहेको प्रतिबद्धतासमेत अध्यक्ष ढकालले व्यक्त गरे।

कात्तिक २२, २०८० बुधबार १२:३१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।