क्रिकेटप्रतिकाे क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ, मुलपानी, चितवन र विराटनगरमा क्रिकेट रंगशाला बनाउँछौं : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी निर्माण कार्य अगाडि बढाउने बताएका छन्।
आउँदो वर्ष सन् २०२४ मा हुने टी-२० विश्वकपमा छनोट भएका खेलाडीलाई बालुवाटारमा सम्मान गर्दै उनले क्रिकेटमा नेपालको राम्रो सम्भावना भएको बताउँदै सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताए।
प्रचण्डले भने, ‘क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउँदै छौं, भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ।’
क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको भन्दै प्रधानमन्त्रीले भने, ‘यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ, खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ।’
कार्यक्रममा नेपाली क्रिकेट टीमका क्याप्टेन रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरु उत्साहित भएको प्रतिक्रिया दिए।
कात्तिक २१, २०८० मंगलबार १९:३१:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।