टी-२० विश्वकपमा छनोट भएको टोलीका खेलाडीले सरकारबाट जनही १३ लाख पाउने

टी-२० विश्वकपमा छनोट भएको टोलीका खेलाडीले सरकारबाट जनही १३ लाख पाउने

काठमाडौं : आउँदो वर्ष सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त आयोजना गर्ने टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीले सरकारबाट नगद पुरस्कार पाउने भएको छ। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को मंगलबार बसेको कार्यकारी समितिको बैठकले खेलाडीहरूका लागि नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले १५ खेलाडी तथा समान १-१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको हो

प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको छ।

गत आइतबार सम्पन्न आइसीसी पुरुष टी-२० विश्वकपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्व कपमा स्थान पक्का गरेको थियो।

कात्तिक २१, २०८० मंगलबार १८:२२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।