भैरहवा मेडिकल कलेजकी प्रिन्सिपल लक्ष्मी पाठक पदमुक्त

भैरहवा मेडिकल कलेजकी प्रिन्सिपल लक्ष्मी पाठक पदमुक्त
फाइल फोटो

काठमाडौं : भैरहवास्थित युनिर्भसल मेडिकल कलेज तथा शिक्षण अस्पतालले अन्ततः कलेजकी प्रिन्सिपल प्रा.डा.लक्ष्मी पाठकलाई पदमुक्त गर्ने निर्णय गरेको छ। 

कलेजकी प्रिन्सिपल प्राध्यापक डा. पाठकलाई पदमुक्त गर्नेसहित ६ बुंदे सहमति भएपछि विद्यार्थीहरूले ‘सर्टको गोजी र कुर्था सुरुवाल’को माग राख्दै आएको आन्दोलन पनि फिर्ता लिएका छन्।

ड्रेस कोर्ड (पोशाक) कलेजले लागू गर्ने सूचना जारी भएपछि त्यहाँ कार्यरत विद्यार्थीहरूले छात्रको सर्टमा गोजी हुनुपर्ने र छात्राको हकमा पाइन्ट सर्टको सट्टा कुर्ता सुरुवाल हुनेपर्ने माग प्रिन्सिपल पाठक सामु राखेका थिए।

तर, विद्यार्थीमाझ ‘नझुक्ने’ बताउँदै प्रिन्सिपल पाठकले जारी सूचनालाई जसरी पनि कार्यान्वयन गर्ने भन्दै अड्डी कसेपछि स्थिति बिग्रिएको थियो। कलेजभित्र प्रहरी र विद्यार्थीहरू बीच झडपको स्थितिसमेत बनेको थियो।

पछि कलेजकी प्रिन्सिपल पाठकको राजीनामालाई मुख्य शर्त बनाएर विद्यार्थीहरू आन्दोलित भएका थिए। 

अस्पतालका प्रमुख कार्यकारी अधिकृत मोहनकुमार पीएसले विज्ञप्ति जारी गर्दै आन्दोलनरत विद्यार्थीसंग सहमति भई विद्यार्थीका माग सम्बोधन गरिएकाले आजदेखि कलेजको पठन पाठन र उपचार सेवा सुचारु हुने जानकारी गराएका छन्।

आन्दोलनरत विद्यार्थीले प्रमुख कार्यकारी अधिकृत कक्ष, प्राचार्य कक्ष, सह–प्राचार्य कक्ष, मेडिकल सुपरिटेन्डेन्ट कक्ष, इन्टर्नसिप संयोजक कक्ष, लेखा शाखा तथा मानव संशाधन शाखामा तालाबन्दी गरेका थिए। 

विद्यार्थीहरूले प्रिन्सिपल पाठकलाई ५ दिनसम्म बन्धक समेत बनाएका थिए । पछि प्रशासनले प्रिन्सिपल पाठकलाई बन्धक अवस्थाबाट मुक्त गरेको थियो। 

प्रिन्सिपल पाठकले भने राजीनामा नदिने अडान लिंदै आएकी थिइन्। जसले गर्दा आन्दोलन एक महिनासम्म लम्बिएको थियो।

कात्तिक २१, २०८० मंगलबार १७:२१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।